
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने रणनीति तय गर्दैछ । त्यसका लागि आज दिउँसो आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा शीर्ष नेताको अनौपचारिक बैठक बस्दैछ ।
अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको एकीकृत समाजवादीले यसबारे थप छलफल गरेर संसदमा प्रस्तुत हुने तयारी गरेको पार्टीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिनुभयो ।
आज शीर्ष नेताको छलफलपछि भोलि बिहान संसदीय दलको बैठक बोलाउने एकीकृत समाजवादीको तयारी छ । एमसीसीलाई लिएर एकीकृत समाजवादी दुई धारमा उभिएको छ । अध्यक्ष माधवकुमार नेपाल यसको समर्थन र सम्मानित नेता झलनाथ खनाल विपक्षमा उभिनुभएको छ । एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरे पनि सांसदहरूलाई ह्विप भने जारी नगर्ने भएको छ । रातोपाटीबाट