
काठमाडौं । एमसिसीबारे अन्तिम सहमति गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बैठक बस्न लागेको हो।बैठकमा उपस्थित हुने सत्ता साझेदारका नेताहरू बालुवाटार आउनेक्रम जारी छ।
एमसिसीबारे आफ्नो पार्टीको धारणा बनाउन माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बसिरहेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा जारी बैठकमा एमसिसीबारे छलफल भइरहेको छ। यो बैठक सकेर प्रचण्ड बालुवाटार पुग्नेछन्।
आज दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको छ। बैठकमा एमसिसीबारे छलफल हुने कार्यसूची छ।‘एमसिसी’ पारित नगरे गठबन्धन तोड्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चेतावनीपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टीभित्र व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने विषयमा छलफल अगाडि बढाइरहेका छन्।
माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच शनिबार पनि एमसिसीबारे छलफल भएको थियो। यी दुई पार्टीका दोस्रो तहका नेताहरूले नै व्याख्यात्मक टिप्पणीसहितको प्रस्ताव पारित गर्न पार्टी नेतृत्वलाई सकारात्मक बनाएका हुन्। यता अर्को सत्ता साझेदार दल जसपामा यादव पक्ष एमसिसी परिमार्जन गरेर मात्र पारित गर्नुपर्ने अडानमा छ। भट्टराई पक्ष भने यही रूपमा पारित गर्नुपर्ने अडानमा छ। प्रचण्डले निर्णय लिनासाथ यादवले पनि निर्णय लिने भट्टराई पक्षको भनाइ छ।
माओवादी र एकीकृत समाजवादीले एमसिसी पारित गर्न नमानेपछि प्रधानमन्त्री देउवाले एमालेसँगको छलफल अघि बढाएका थिए।शनिबार पनि कांग्रेस र एमाले नेताहरूबीच छलफल भएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिए पनि अन्तिम समयमा उनी गएका थिएनन्।
दुई पार्टीका नेताहरूले औपचारिक रूपमा बोल्दा कुनै सहमति नभएको बताए पनि उनीहरूबीच सँगै अघि बढ्न विश्वासको वातावरण बनेको छ। एमसिसी पारित गर्न एमाले तयार भए कांग्रेसले उसका माग पूरा गर्न सकारात्मक हुने आश्वासन दिइसकेको छ।एमसिसी पारित गर्न एमालेले सहयोग गर्नेमा प्रधानमन्त्री ढुक्क रहेको कांग्रेसका एक नेताले दाबी गरे।एमसिसी पारित गर्दा सरकारबाट हट्नुपरे पनि आफूले त्यसलाई सामान्य रूपमा लिने भनेर देउवाले आफू निकटहरूलाई बताइसकेका छन्।
‘प्रधानमन्त्रीलाई सत्ता छोड्न कुनै समस्या छैन। त्यही भएर उहाँले एमालेको भर गर्नुभएको हो। निर्वाचनमा जान पनि समस्या छैन,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘अर्कातिर एमालेले पनि अहिले नै सरकारमा जानुपर्छ भनेर भनेको छैन। उसले पनि निर्वाचन नै चाहेको छ। त्यसैले अब प्रधानमन्त्रीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई धेरै फकाउनुहुन्छ जस्तो लाग्दैन।’
आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले आफ्नो पार्टीको निर्णयसहित एमसिसीको पक्षमा मतदान गर्ने प्रतिबद्धता नजनाए गठबन्धन टुट्ने कांग्रेसका अर्का एक नेताले बताएका थिए।ती नेताका अनुसार आइतबारपछि भने प्रधानमन्त्रीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई कुर्ने छैनन्। सेतोपाटीबाट