
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’लाई पार्टीका सांसदहरुले एमसीसी सम्झौताका सन्दर्भमा तयार गरिएको व्याख्यात्मक घोषणा अमेरिकाले मान्ने आधार के हो ? भन्दै प्रश्न गरेका छन् । सांसदहरुले प्रचण्डलाई सम्झौताको संकल्प प्रस्तावका रुपमा तयार भएको घोषणा अमेरिकाले नमाने के हुन्छ ? भनेर पनि प्रश्न गरेका छन् ।
प्रचण्डसहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने निर्णय गरिसकेका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले समेत व्याख्यात्मक घोषाणासहित एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको हो ।केन्द्रीय समितिको बैठकपछि बसेको संसदीय दलको बैठकमा सांसदहरुले व्याख्यात्मक घोषणालाई अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) मुख्यालयले स्वीकार गर्ने आधार खोजेका हुन् ।
सुरुदेखि नै एमसीसीको विरोधमा रहेका प्रमुख सचेतक देव गुरुङले बैठकमा बोल्दै व्याख्यात्मक घोषणा एमसीसीले स्वीकार नगरे के हुन्छ भन्ने बारेमा प्रष्ट हुनुपर्ने बताउनुभयो। माओवादी केन्द्रभित्र उनीसहित नेता नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल र गिरिराजमणि पोखरेलले केन्द्रीय समितिको बैठकमै एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयविरुद्ध फरक मत दर्ज गरेका छन् । नागरिक खबरबाट