काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले परम्पराका नाममा समाजमा हुने अन्याय वा कुप्रथा उन्मूलन गर्न समुदाय नै सक्रिय हुनुपर्ने बताउनुभएको छ । उहाँले यस्ता गलत परम्परालाई इतिहास बनाउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आइतबार आयोजित सारा डेभिन्सन ट्रेसीद्वारा लिखित ‘नो लङ्गर अनटचेवल’ पुस्तकको समर्पण समारोहमा राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो। राष्ट्रपति भण्डारीले वादी समुदायमा रहेका विभेद अन्त्य गर्न राज्यका सबै अङ्गको महत्वपूर्ण भूमिका रहेको भन्दै ती विभेदविरुद्ध बनेको कानुनको पूर्ण परिपालन हुनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै यो समुदायको उत्थानमा जागरण, शिक्षा, आर्थिक क्षेत्रमा समान सहभागिता जस्ता क्षेत्रमा पहुँच पुर्याई सहयोग गर्नुपर्नेमा उहाँको जोड थियो ।सामाजिक विभेद अन्त्यका लागि सरकारले तर्जुमा गरेका नीति तथा कार्यक्रम स्थानीय तहमा पुर्याउने र समुदायस्तरका छलफलबाट प्राप्त सुझाव नीतिगत तहमा ल्याउन सबैको सार्थक प्रयास आवश्यक रहेको पनि राष्ट्रपति भण्डारीको भनाइ थियो ।
समाजमा कायमै रहेको असमानाताको अन्त्य गर्न आवश्यक नीति र कानुनको निर्माण गर्दै प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध निकायले ध्यान दिनुपर्ने उहाँको सुझाव छ । देवीसरा हन्ना वादीलगायत पाँच वादी समुदायका महिलाका बारेमा लेखिएको पुस्तक गत जनवरी ३१ मा भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको थियो । अमेजनमा फेब्रुअरी १ मा सो पुस्तक सबैभन्दा धेरै बिक्री हुनेमा समेत परेको पुस्तककी लेखिका ट्रेसीले बताउनुभयो । पुस्तकले वादी समुदायकी भएकै कारण हामीले समाजमा भोग्नुपरेको असमानता र पीडा पुस्तकले चित्रण गरेको पुस्तका मुख्यपात्र देवीसरा वादी बताउँनुहुन्छ। रासस






















