
काठमाडौँ । सभामुख अग्नि प्रसाद सापकोटाले महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उहाँले राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक उपलब्धिका लागि नेपाली महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्रशंसनीय र सदा स्मरणीय रहेको बताउनुभएको हो ।
संविधान सभामार्फत् जारी गरिएको नयाँ संविधानमा सबै खाले लैंगिक विभेद अन्त्यको दस्तावेजीकरण सम्भव भएको उल्लेख गर्दै उहाँले राज्यका हरेक निकायमा समानुपातिक, समावेशी र समतामूलक सहभागिता सुनिश्चित भएको पनि बताउनुभएको छ । महिला दिवसको ऐतिहासिक महत्वलाई स्मरण गर्दै यस दिनलाई समानता, अधिकार र महिला हिंसाविरुद्धको अभियानका रुपमा मनाइरहँदा प्राप्त अधिकारहरु कार्यान्वयनको प्रत्याभूति एवं विभेद अन्त्यका लागि जुट्न प्रेरणा मिलोस् भन्ने कामना पनि उहाँले गर्नुभएको छ । रातोपाटीबाट