
बागलुङ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा गणतन्त्र ल्याउने दलहरूबीच नै विवाद उत्पन्न हुनु अशोभनीय भएको बताउनुभएको छ । सोमबार बागलुङस्थित धौलागिरि अस्पतालमा एक स्वास्थ्य शिविरको उद्घाटन गर्दै तिमिल्सिनाले गणतन्त्र कार्यान्वयन गर्ने बेला झगडा गर्दा सयौं वर्षको उपलब्धी गुम्ने खतरा रहेको बताउनुभयो ।
मिलेर लड्यौं, सबैको पहलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो तर कार्यान्वयनमा झगडा किन ?’ उहाँले भन्नुभयो, ‘गणतन्त्रलाई नैतिकता, त्याग र संघर्षको उपलब्धि नभई पैसावालाको बोलावाला बनाउन खोजियो ।’ निर्वाचन नजिक आइरहेका बेला निष्ठाको नेतृत्व खोज्ने बेलामा कोसँग पैसा छ भनेर खोज्ने बेला आएको उहाँले टिप्पणी गर्नुभयो ।
उहाँले आगामी निर्वाचनमा एउटै मञ्चमा बसेर प्रचार गर्ने व्यवस्था गर्न दलहरूलाई आग्रह गर्नुभयो । ‘अब रक्सीको बोतल, चामलका बोरा बाँडेर भोट ल्याउने होइन स बरु जनताको मन अहिलेदेखि जितौं‚’ तिमिल्सिनाले भने, ‘राम्रोमध्येको झन् राम्रो उम्मेदवार खोजौं ।’ खुट्टा तान्ने प्रवृत्तिविरुद्ध भने लड्नैपर्ने उहाँले बताउनुभयो । उहाँले ग्रामीण र दुर्गममा काम गर्ने चिकित्सकको तलब र बढुवा अंक बढी हुनुपर्ने बताउनुभयो । ‘करोड खर्चेर पढेका चिकित्सकलाई शाखा अधिकृतको स्तरमा राख्दा स्वास्थ्य क्षेत्र सुधार हुँदैन‚’ उहाँले भन्नुभयो, ‘राज्यले सोहीअनुसारको नीति बनाएर चिकित्सकको सम्मान हुने काम गरोस् ।’
जुन सरकारले गरे पनि राम्रा कामलाई अनुशरण गर्ने र अपनत्व लिएर थप काम गर्ने वातावरण बनाउन उहाँको आग्रह थियो । उनले धौलागिरि अस्पतालमा पछिल्लो समयमा भएको सुधारको प्रशंसा गर्नुभयो। ‘कोभिडको संकटले सम्भावना पनि दिएको छ‚’ उहाँले भन्नुभयो, ‘हिजोको ५० शय्याको अस्पताल अब २ सय शय्याको हुने भयो ।’ कोरोना संक्रमणपछि सुधार भएको अस्पतालले सम्भावनाको ढोका खोलेको भन्दै अस्पतालको प्रशंसा गर्नुभयो । बागलुङ नगरपालिका, लुम्बिनी फाउन्डेसन, अस्पताल र अन्तराष्ट्रिय बागलुङ समाजको सहयोगमा युरोपका चिकित्सकले अस्पतालमा तीन दिनसम्म पाठेघरको अपरेसन तथा स्त्रिरोगसम्बन्धी शिविर सञ्चालन गर्नुभएका हो। ekantipurबाट