
काठमाडौँ । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नेबारे संवाद गर्न छुट्टै संयन्त्र बनाउने भएको छ।पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय बैठकबाट संयन्त्र बनाइने जानाकारी दिनुभयो ।
सचिवालय बैठकको मिति भने टुंगो लाग्न बाँकी छ। तापनि दुई दिनभित्र बैठक बस्ने तयारी भइरहेको खतिवडाले बताउनुभयो । स्थानीय निर्वाचनमा एकीकृत समाजवादी गठबन्धन बनाएर जानुपर्ने पक्षमा छ । गठबन्धन बनाएर निर्वाचनमा जानुपर्नेमा सत्तारूढ अर्को दल नेकपा (माओवादी केन्द्र) को पनि जोड छ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवा गठबन्धनबारे सकारात्मक हुनुहुन्छ । गठबन्धनविरुद्धमा उभिएका पार्टीका केही पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई जथाभावी नबोल्न देउवाले निर्देशनसमेत दिइसक्नुभएको छ । तर, गठबन्धनले स्थानीय निर्वाचनमा निरन्तरता पाउँछ भन्ने निश्चित छैन।
कांग्रेस नेतृत्वमा रहेको वर्तमान पाँच दलीय गठबन्धन ८ जेठमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि बनेको हो।गठबन्धन बनाउन अधिक जोडबल गर्ने नेताहरू माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हुनुहुन्छ। nagariknews.nagariknetworkबाट