राजनीतिलाई पैसा कमाउने थलो बनाइयो : बिजुक्छेँ

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ ले शासक दलका नेताहरूले राजनीतिलाई पैसा कमाउने थलोको रुपमा विकास गरेको आरोप लगाउनुभएको छ । उहाँले यही कारण देश झन् गरिब हुँदै गएको र भ्रष्टाचार बढिरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिका–१० स्थित लान्चा फल्चाको मंगलबार उद्घाटन गर्दै उहाँले शासक दलका नेतामा काठमाडौँ उपत्यकाको कुनै विकास योजना नभएको दाबी गर्नुभयो । अध्यक्ष बिजुक्छेँले जनतालाई धोखा दिने शासक दलका नेतालाई चुनावमा जिताउन नहुने बताउनुभयो ।

अध्यक्ष बिजुक्छेँले रुस र युक्रेनबीचको लडाइँको प्रसंग जोड्दै देउवा सरकारले संयुक्त राष्ट्र संघमा रुसले युक्रेनमा आक्रमण गर्यो भन्ने पक्षमा मत दिनु नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत भएको बताउनुभयो । उहाँले एमसीसी सम्झौता अनुमोदनलगत्तै सरकारले नेपाललाई पनि नाटो संगठनको सदस्य बनाउने तर्खरमा शासक दलहरु क्रियाशील रहेको बताउनुभयो ।

नेमकिपाका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले सम्पदा पुनःनिर्माण ठेकेदारभन्दा उपभोक्ता समितिमार्फत नै गराउनुपर्नेमा जोड दिनुभयो । पैसा र आश्वासन बाँडेर चुनाव जित्ने जनप्रतिनिधिले जनताको सेवालाई भन्दा आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्नेतर्फ जनता सचेत हुनुपर्ने भन्दै सांसद सुवालले एमसीसी सम्झौता नेपालको लागि सहयोगको नाममा आएको विषसरह भएको बताउनुभयो । भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले भक्तपुर नपाले जनताको लागि जनताकै सहयोगमा यहाँका सम्पदा संरक्षण गरिरहेको बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार