
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपाली बिजनेस काउन्सिल, दुबइका पदाधिकारीहरुले भेटवार्ता गर्नुभएको छ । मन्त्री श्रेष्ठ संयुक्त अरब इमिरेट्स (युएइ) को भ्रमणमा छन् ।
काउन्सिलका अध्यक्ष डा.असिफ अली सिद्दिकी नेतृत्वमा नेपाली व्यवसायीहरुले मन्त्री श्रेष्ठसँग वैदेशिक रोजगारीसँगै विदेशमा नेपाली उत्पादन र सेवाको बजार विस्तार गर्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
वैदेशिक रोजगारमा जाने अदक्ष श्रमिकहरूले विभिन्न समस्या झेल्दै आएको भन्दै आवश्यक सीप–दक्षताको विकासमा पनि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्र व्यवस्थित र सुरक्षित गर्न आफू प्रयत्नशील रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले विदेशमा नेपालीले आर्जेको सीप र पुँजी नेपाल भित्र्याउन सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । नीतिगत र व्यवहारिक पक्षमा लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।
व्यवसायीले युएइमा भिजिट भिसाबाट सिर्जित समस्याको उपचारमात्र होइन, निर्मुल नै पार्नुपर्ने बताएका थिए ।भिजिट भिसासम्बन्धी समस्या समाधानका लागि युएइ सरकारसँग मिलेर काम गर्ने बताउँदै मन्त्री श्रेष्ठले सकेसम्म युएइमै रोजगारी, ओभरस्टे भएर धेरै शुल्क बुझाउनुपर्ने भएकालाई मिनाहा गर्न र नेपाल लैजानैपर्नेलाई उद्धारमा सहयोग गर्ने प्रतिबद्धता युएइ सरकारले जनाएको बताउनुभयो । नागरिक खबरबाट