प्रणाली फेरिए पनि प्रवृत्ति बदल्न सकिएन : पाण्डे

झापा । नेकपा (एमाले)की स्थायी कमिटी सदस्य विन्दा पाण्डेले हरेक मानिसको सोच र व्यवहारमा परिवर्तन नआएसम्म लैङ्गिक समानता र अधिकारको लडाइँ अपूर्ण हुने बताउनुभएको छ ।

रिडर्स झापाले काँकडभिट्टामा ‘धर्तीमाथिको दाबी’ नामक पुस्तकको विषयमा आयोजना गरिएको अन्तरक्रियामा उहाँले नेपाली समाजमा विभिन्न चरणमा भएका राजनीतिक आन्दोलनले सत्ताको प्रणाली फेरेता पनि प्रवृत्ति बदल्न नसकेको बताउनुभयो ।राजनीतिक दलको नेतृत्वमा समेत पितृसत्तावादी सोच हाबी रहेको जिकिर गर्दै उहाँले पठन संस्कृति र प्रश्न गर्ने बानीले मात्र नेतृत्वको सोच र व्यवहार बदल्न सकिने बताउनुभयो ।

‘धर्तीमाथिको दाबी’ उहाँको पछिल्लो प्रकाशित कृति हो । कार्यक्रममा कृतिका बारेमा सहजकर्ता सागर शिवाकोटीले विभिन्न प्रश्न गर्नुभएको थियो ।पाण्डेले यस कृतिमा आफ्नो राजनीतिक जीवनको संघर्षदेखि संविधानसभा सदस्यको भूमिकामा रहेर लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्दाताका महिला अधिकारका लागि गरिएको रस्काकस्सीका बारेमा विशेष चर्चा गरेको कार्यक्रमका सहजकर्ता शिवाकोटीले बताउनुभयो ।

सहभागीबाट सोधिएका प्रश्नहरुको जबाफ दिने क्रममा कृतिकार पाण्डेले पितृसत्ताको अन्त्य गर्नका लागि महिलावाद लागु हुनुपर्ने चर्चा गर्नुभयो। उहाँले मार्क्सवाद, लेलिनवाद र माओवादी जुनसुकै वैचारिक मार्ग अपनाए पनि वर्गीय मुक्तिको कुराले मात्र महिला मुक्ति सम्भव नहुने र समानताको लडाइँका लागि महिलावाद अपरिहार्य भइसकेको बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार