इलाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाललाई लक्षित गरेर एमालेले लगाइदिएको जुँगामा ताउ लाएर बाकस खाली गर्छु भन्ने धम्की दिएको भन्दै व्यङ्ग्य गर्नुभएको छ ।
इलामको सूर्योदय नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै उहाँले एमालेबाट चुनाव जितेर अहिले सांसद् र मेयरका रुपमा रहेको भन्दै यस्तो बताउनुभएको हो ।‘कम से कम एमालेले लगाइदिएको जुँगा खौरेर कुरा गर्नु नि ! कम्युनिस्टकै बर्को ओढेका अन्तरे–जन्तरेहरुले नै कम्युनिस्ट सरकार ढाल्ने काम गर्नुभयो । एमालेका कार्यकर्ताले खुन पसिना बगाएर रोजगारीका लागि नगएर खर्चिएको समयमा भोट मागेर चुनाव जितेका अन्तरे–जन्तरेले राजीनामा गर्नु पर्दैन ? अलग हुनु पर्दैन ?,’ उहाँले भन्नुभयो ।
एमालेले लगाइदिएको मेयर र सांसद्को फुली बोकेर ठुला कुरा गरेको भन्दै ओलीले त्यसबाट अलग हुन चुनौती दिनुभयो । ओलीले भन्नुभयो,‘एमालेले लगाइदिएको सांसद्को फुली, मेयरको फुली फिर्ता गर्नुपर्दैन ? कति साह्रो लाज नभएको । एमालेले टाँसेको जुँगा त खौरिनुपर्छ । तिनै जुँगामा ताउ लगाएर एमालेको बाकस खाली गर्छु भन्दैछन् रु बाकस कसको खाली हुन्छ म भन्दिनँ, जनताले वैशाख ३० गते जबाफ दिनेछन्, तपाईंहरुले दिनुहुनेछ ।’
सम्बोधनका क्रममा ओलीले २०५४ सालमा दुईतिहाइ आउने बेला पनि पार्टी फुटाएको बताउनुभयो । अहिले पनि एमालेलाई बहुमत आउन नदिन रोक्न पाँच दलीय गठबन्धन लागेको उहाँले बताउनुभयो। तर, आफूहरुले गठबन्धनलाई आगामी चुनावमा कुचोलेझैँ बढारिदिने ओलीले बताउनुभयो । ‘हामी चुनाव पर्खिरहेका छौँ । वैशाख ३० गते एमालेले देशभरिका पाँच दललाई एउटै कुचाले बढार्छ । जबसम्म पाँच दलीय गठबन्धनको भाँडो रित्तिदैन, तबसम्म हामी एमालेमा प्रवेश गराउँदै जाने हो,’ ओलीले भन्नुभयो । नागरिक खबरबाट