काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्नुभएको छ। काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गर्नुभएको हो ।
अभिनेत्री करिश्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गर्नुभएको हो । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको विकासका लागि राजनीतिमा लागेको बताउनुभयो । देशको विकास र समृद्धिका लागि एमालेबाट राजनीति गर्ने सोचका साथ पार्टी प्रवेश गरेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष ओलीको भाषण सुनेर आफू कहिल्यै नथाक्ने बताउनुभयो।
एमाले पार्टीमा प्रवेश गर्दै उनले यस क्षेत्रमा आफूले राम्रै पहिचान पाएको बताउँदै यही पहिचान सबैथोक होइन, यसको बारेमा आफ्नो मनमा प्रश्न उठेको बताउनुभयो । यो समाज र देशको महिलाका लागि केही गर्नुपर्छ जस्तो लागेर यस क्षेत्रमा लागेको बताउँदै उहाँले आफ्नो क्षेत्रबाट पनि देशका लागि केही नकेही योगदान गर्दै थिए, आजबाट एमालेमा रहेर देशको परिवर्तनका लागि काम गर्ने बताउनुभयो ।
‘सबैको मनमा आउनसक्छ कि नेकपा एमाले नै किन भनि प्रश्न आउनसक्छ’, उहाँले भन्नुभयो, ‘मैले केही जवाफ भए, अध्यक्ष केपी शर्मा ओली पथप्रदर्शक हुनुहुन्छ, उहाँमा देखेको इनर्जी देखेर अचम्ममा परेको छु ।’ देशको थुप्रै ठाउँमा आफू पुग्दा अध्यक्ष अोलीको प्रशंसा गरेकै हुन्छन् भन्दै अभिनेत्री मानन्धरले देशको परिवर्तनका लागि एमाले पार्टी टुल रहेको धारणा राख्नुभयो ।
नेपालको अधिकांश जनता एमालेप्रति सद्भाव राख्ने गरेको आफूले पाएको बताउँदै उहाँले एमाले प्रतिपक्षमा भएपनि यो देशको पहिलो पार्टी रहेको बताउनुभयो । आफू कुनै पनि सौदावाजी गरेर एमालेमा नआएको बताउँदै उहाँले एमालेको समान्य कार्यकर्ता भएर काम गर्न आएको बताउँदै उहाँले भन्नुभयो, ‘मेरो क्षमता हेरेर, मूल्यांकन गरेर मलाई कुनै जिम्मेवारी दियो भने पछि हट्ने छैन ।’ रातोपाटीबाट