भूमिहीनलाई जमिनको लालपुर्जा दिने काम मन्त्रालयको पहिलो प्राथमिकता : मन्त्री श्रेष्ठ

चितवन । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूमिविहीनहरुलाई आज जग्गा धनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गर्नुभएको छ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर २९ को गाउँब्लकमा रहेका भूमिविहीनहरुलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले गाउँब्लकको जमिनको लालपुर्जा दिने कामलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर गरिरहेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षसम्ममा गाउँब्लकमा रहेका सबै भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने गरी काम अगाडि बढाइएको भन्दै देशभित्र रहेका जग्गासम्बन्धी सम्पूर्ण समस्या पनि एक वर्षभित्र समाधान गरिसक्ने गरी योजना बनाएर मन्त्रालय अगाडि बढ्न लागेको बताउनुभयो ।

राष्ट्रिय भूमि आयोगमार्फत् भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै मन्त्री श्रेष्ठले समिति र आयोग मात्रै गठन गर्ने र काम नगर्ने प्रवृत्ति पनि अब अन्त्य गर्नेगरी काम भइरहेको पनि बताउनुभयो । वास्तविक सुकुमबासीले मात्रै जग्गा पाउन र गैरसुकुमबसीले जग्गा नपाउन भन्नेमा सचेत बन्न जनता र जनप्रतिनिधिहरुलाई मन्त्री श्रेष्ठले आग्रहसमेत गर्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार