ताप्लेजुङ । खानेपानी मन्त्री उमाकान्त चौधरीले कञ्चनजंघाको पानीलाई ‘मिनिरल वाटर’को रुपमा बजारमा लैजाने प्रयोजनका लागि अन्तराष्ट्रिय केन्द्रमा लगेर परीक्षण गर्ने दायित्व नेपाल सरकारले लिएको घोषणा गर्नुभएको छ ।
उहाँले आफूसँगै रहेका खानेपानी विभागका महानिर्देशक सूर्यराज कडेंललाई कञ्चनजंघाको पानीलाई अन्तराष्ट्रिय केन्द्रमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाउन निर्देशन पनि दिनुभएको छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कञ्चनजंघाको पानीलाई अन्तराष्ट्रिय बजारमा लैजानसके यो कार्य देशमै एक गौरवको परियोजना बन्ने बताउनुभयो ।
‘त्यहाँको पानीलाई अन्तराष्ट्रिय बजारमा लैजान सके सिरिजङ्गा र ताप्लेजुङलाई मात्र यसले आर्थिक टेवा प्रदान गर्दैन’ उहाँले भन्नुभयो ‘यो देशकै गौरवको योजना र आर्थिक उर्पाजनको प्रमुख केन्द्र बन्ने छ।’ तर, त्यहाँको पानी अन्तराष्ट्रिय बजारमा लैजानुपूर्व परीक्षणको आवश्यकता रहेको उहाँले औंल्याउनुभयो। सोही क्रममा उहाँले भन्नुभयो ‘देश बाहिरका परीक्षण केन्द्रमा लगेर परीक्षण पछि थप प्रक्रिया आरम्भ गर्ने दायित्व अब नेपाल सरकारको हुने छ।’
मन्त्री चौधरीले यस्तो बताएपछि सिरिजङ्गा गाउँपालिकाले नमूनाको रुपमा कञ्चनजंघाको पानी परीक्षणका लागि खानेपानी विभागका महानिर्देशक कडेंललाई जिम्मा लगाएको छ। सिरिजङ्घा गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले वडा नं ८ याम्फुदिनका वडाध्यक्ष टसी लामालाई कञ्चनजंघाको पानी नमूनाको रुपमा ल्याउन जिम्मेवारी दिनुभएको थियो।
सोही अनुरुप प्रमुख प्रशासकीय भवनको उद्घाटन कार्यक्रमको अन्त्यतिर मात्र पालिकाको केन्द्र तेल्लोक आइपुगेका वडाध्यक्ष लामाले आफुले ल्याएको कञ्चनजंघाको पानी अन्तराष्ट्रिय परीक्षण केन्द्रमा पुर्याउने व्यवस्थाका लागि खानेपानी विभागका महानिर्देशक कडेंललाई दिनुभयो । कडेंलले पानीको परीक्षण पछाडि यथाशीघ्र त्यसको प्रतिवेदन पालिका समक्ष पठाउने जानकारी दिनुभयो।
सिरिजङ्गा गाउँपालिकाले ‘कञ्चनजंघाको पानी,हाम्रो आम्दानी’ भन्ने नारा सहित कञ्चजंघाको पानीलाइ अन्तराष्ट्रिय बजारमा पुर्याउने प्रयास स्वरुप सम्भाव्यता अध्ययन गरिरहेको छ । यस सम्बन्धी विज्ञहरुको अहिलेसम्मको प्रारम्भिक संकेतले कञ्चनजंघाको पानी बजारमा लैजान सकिने बलियो संकेत देखिएको भन्दै पालिकाले यसलाई एक गौरवको आयोजनाको रुपमा अघि बढाउन नेपाल सरकारको सहयोगको याचना गर्दै आएको छ।
कञ्चनजंघा हिमालबाट उत्पति हुने पानीको संरक्षण, संवद्र्धन र उपयोग गर्न गाउँपालिकाले आफ्नै स्वामित्वमा मिनिरल वाटर उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिरहेको छ । माइक्रोबायोलोजिस्ट विनोद लेखक नेतृत्वको अध्ययन टोलीमा इन्भाइरोमेन्टल साइन्टिस प्रकाशचन्द्र अर्याल र जियोलोजिस्ट भरतप्रसाद भण्डारी गरी ३ जनाले सम्भाव्यता अध्ययन गर्नुभएको छ ।
अन्तराष्ट्रिय परीक्षण केन्द्रबाट त्यहाँको पानी उपयोगिताबारे ‘ग्रिन सिग्नल’ आए नेपाल सरकारले मिनिरल वाटर उद्योग स्थापनामा सघाउने वचन दिएको छ। पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ र संविधानसभा सदस्य भूपेन्द्र थेबेले कञ्चनजंघा हिमालबाट उत्पति हुने पानीको संरक्षण र उपयोगका लागि सिरिजङ्गा गाउँपालिकाले चालेको अभियानमा साथ दिन मन्त्री चौधरीमार्फत् नेपाल सरकारको ध्यानाकृष्ट गर्नुभएको थियो। nagariknews.nagariknetworkबाट