काठमाडौं । तीव्र गतिका बलर करण केसीले ह्याट्रिक गरेको खेलमा जित निकाल्दै पपुवा न्युगिनी (पिएनजी) र मलेसियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टिम नेपाल फाइनलमा गरेको छ।
लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो । नेपालले बिहीबार पिएनजीलाई ३७ रनले पराजित गर्दै लगातार तेस्रो जित निकाल्यो । यसअघि नेपालले सुरूवाती दुई खेलमा पिएनजी र मलेसियालाई पराजित गरेको थियो । अब नेपालले लिग चरणको अन्तिम खेलमा शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।
सो खेलमा पराजित भए पनि नेपालको फाइनलमा स्थान पक्का छ। फाइनल आगामी सोमबार हुनेछ । फाइनलमा नेपालले पिएनजी र मलेसियामध्ये एक टिमसँग भिड्नेछ। पिएनजी र मलेसियाबीच भोलि शुक्रबार प्रतिस्पर्धा हुँदैछ। भोलि पिएनजीले मलेसियालाई हराएर पर्सी नेपालले मलेसियालाई हराए पिएनजी फाइनलमा पुग्नेछ। मलेसियालाई फाइनल पुग्न भोलि पिएनजी वा पर्सी नेपालविरूद्ध मध्ये एक खेल जिते पुग्छ।
बिहीबार त्रिवि मैदानमा नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याएको पिएनजी २ बल खेल्न बाँकी छदा १६६ रनमा अलआउट भयो। करणले अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमा तीन विकेट लिँदै ह्याट्रिक गरेका थिए। उनले चाड सोपरलाई २ रन, अताइ र पोकनालाई शून्यमा आउट गरे। उनले सोपर र पोकनालाई क्याच गराउँदा अताइलाई बोल्ड गरे।
पिएनजीका लागि चार्ल्स अमिनीले ६२ रन जोडे। उनले ४७ बलमा ९ चौका प्रहार गरे। टोनी उरा ४३ रनमा आउट भए।त्यसअघि ओपनरद्वय असद भाला र लेगा सिएका १–१ रनमा आउट भए। दुवैलाई नेपालका करण केसीले आउट गरेका थिए।केसीले सिएकालाई आउट गर्दै टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका थिए।
सेसे बाउ २५ रन र नोर्मान भानुआ १७ रनमा आउट भए। दुवैलाई अबिनास बोहराले १८ ओभरको दोस्रो र तेस्रो बलमा आउट गरे।बलिङमा नेपालका करणले ह्याट्रिकसहित पाँच विकेट लिए । उनले ३.४ ओभरमा २१ रन दिए।सोमपाल कामी र अबिनास बोहरा २–२ विकेट लिन सफल भए। सोमपालले दुवैले ४(४ ओभरमा ३४–३४ रन दिए।त्यसअघि टस जितेको पिएनजीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २०३ रन जोड्यो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले १८ ओभरको सुरुवाती तीन बलमा लगातार छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए। दीपेन्द्रको यो चौथो टी-२० अर्धशतक हो। दीपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ६६ रन जोडे। यस्तै डेब्यू खेलाडी आदिल अन्सारीले आक्रामक ब्याटिङ गरे। उनले ११ बलमा ३१ रन जोडे। उनले १ चौका र ३ छक्का प्रहार गरे।नेपालका ओपनरद्वय कुशल भुर्तेल १७ रन र आसिफ शेख ३८ रन जोडे।
कुशलले २० बलमा २ चौका हिर्काए। आसिफले २९ बल खेलेर ४ चौका र १ छक्का हिर्काए। रोहित पौडेल ४१ रन जोडेर आउट भए। उनले २३ बलमा ४ चौका र ३ छक्का हिर्काए।बलिङमा पिएनजीका कुबाआ मोरिआले ३ विकेट लिए। उनले सबै विकेट अन्तिम ओभरमा हात पारेका थिए। उनले अन्सारीलाई ३१ रनमा एलबिडब्लूको धरापमा पार्दा करण केसी र दिलीप नाथलाई शून्यमा आउट गरे। सेतोपाटीबाट