कालरात्री व्याण्डद्वारा बालगृहलाई साङ्गीतिक सामग्रीहरु सहयोग

म्याग्दी । कालरात्री व्याण्ड बेनीबजार म्याग्दीले हिँजो (शनिबार) नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहलाई साङ्गीतिक सामग्रीहरु सहयोग गरेको छ । बालगृहमा बसेर आवासीय सुविधासहित अध्ययन गर्दै आइरहेका बालबालिकाहरुलाई लक्षित गरी कालरात्री व्याण्डले सङ्गितका सामग्री उपलब्ध गराएको हो ।

कालरात्री व्याण्डले अध्ययनका साथै बालबालिकालाई अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउने उद्देश्यका साथ बालगृहमा रहेका बालबालिकाहरुलाई सङ्गितका विभिन्न सामग्रीहरु सहयोग गरेको जनाएको छ । कालरात्री व्याण्डको सहयोगमा सङ्गितका विभिन्न साधनहरुमध्ये गितार, मादल, किबोर्ड, बाँसुरी र खैंजडी लगायतका सामग्री प्रदान गरिएको थियो ।

उक्त सामग्री कालरात्री व्याण्डका अध्यक्ष सन्दीप श्रेष्ठसहित अन्य पदाधिकारीहरुले नेपाल बाल सङ्गठनका जिल्ला अध्यक्ष राजेश शाक्य र सचिव सन्दीप खत्रीलाई हस्तान्तरण गर्नुभएको थियो । सामग्री ग्रहण गर्दै अध्यक्ष शाक्यले मानव जाति आफूसँग जे स्रोतसाधन छ, त्यसैमा रमाउन सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले बालगृहमा रहेका बालबालिकाहरुको लागि साङ्गीतिक चिज नौलो र नयाँ भए पनि अध्ययनका साथै मनोरञ्जन क्षेत्रमा रमाउने बालबालिकाहरुलाई सङ्गितका सामग्रीहरुले सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

साङ्गीतिक सामग्रीहरु हस्तान्तरण कार्यक्रमको अवसरमा कालरात्री व्याण्डले बालगृहका बालबालिकाहरुलाई खीर परिकारसहित बिहानको भोजनग्रहण समेत गराएको थियो । कार्यक्रमको सञ्चालन कालरात्री व्याण्डका राजु खानले गर्नुभएको थियो । हाल म्याग्दी बालगृहमा ११ जना अभिभावक नभएका बालबालिकाहरुले अध्ययन गर्दै आइरहेका छन् ।

यसैबीच म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुलाई लक्षित गरेर दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरु सहयोग भएको छ । म्याग्दीको बेनी नगरपालिका–७, सङ्गमचोक निवासी अर्पणा श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा बालगृहलाई खाद्यान्न सामग्री सहयोग गर्नुभएको हो । पछिल्लो समय जन्मदिन मनाउने प्रचलन फेरिँदै गएको छ भने विभिन्न संघसंस्था र बालबालिकालाई सहयोग गर्न थालिएको छ ।

जन्मदिनमा हुने फजुल खर्चलाई कटाएर आफूले सानो भए पनि बालबालिकालाई खाद्यान्न सहयोग गरेको सहयोगदाता श्रेष्ठले बताउनुभयो । उहाँले दाल, चामल, नुनतेल, पानी, दुधलगायत खाद्यान्नहरु नेपाल बाल सङ्गठन म्याग्दीका सचिव सन्दीप खत्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार