म्याग्दी,। बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले मंगला गाउँपालिकाको अध्यक्षमा बिरेन्द्र बुढाथोकीलाई उम्मेदवार बनाउने भएको छ । गाउँपालिका समितिले अध्यक्षको उम्मेदवारमा जिल्ला सहसचिव श्रीराम पौडेल, बुढाथोकी र पुस्कर पुनको नाम सिफारिस गरेको थियो । बेनीमा मंगलबार बसेको जिल्ला कार्यसमितिको बैठकले बुढाथोकीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको काँग्रेस म्याग्दीका सचिव हिरा पुनले जानकारी दिनुभयो ।
पालिकाबाट नाम सिफारिस भएका तीनै जना आकाँक्षी, वडा सभापति र वडा अध्यक्षका उम्मेदवारहरुलाई सँगै राखेर छलफल गर्दा बुढाथोकीलाई पालिका अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको पुनले भन्नुभयो । उपाध्यक्ष र २ नम्बर वडाका अध्यक्षका उम्मेदवार छनोट बाँकी राखिएको छ । गाउँपालिका अध्यक्षका उम्मेदवार बुढाथोकीको राजनीतिक पृष्ठभूमि कम्प्युनिष्ट पार्टी हो । वि.स. २०४७ मा एमाले निकट अनेरास्ववीयुको जिल्ला सचिव, २०५३ देखि एमालेको राजनीतिमा लागेका आइएससी अध्ययन गरेका रोका २०७६ मा माओवादीबाट काँग्रेस प्रवेश गर्नुभएको थियो ।
उहाँ २०५६ मा नेपाल मगर संघको जिल्ला सचिव बन्नुभएको थियो । नेपाली काँग्रेसको मंगला गाउँपालिका कार्यसमितिका सचिव बुढाथोकी काँग्रेस सम्बद्ध नेपाल राष्ट्रिय मगर संघको गाउँपालिका अध्यक्ष हुनुहुन्छ । काँग्रेसले १ नम्बर वडामा रविन पुन, ३ मा टेकबहादुर छन्त्याल, ४ मा लालबहादुर रोका र ५ मा बलबहादुर खड्कालाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको जिल्ला सचिव पुनले बताउनुभयो ।
एमालेले मंगलाको अध्यक्षमा अहिलेका गाउँपालिका अध्यक्ष सतप्रसाद रोकालाई दोहो¥याएर उम्मेदवार बनाउने भएको छ । माओवादीले पनि मंगलाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष र सदस्यहरुका उम्मेदवार घोषणाको तयारीमा रहेको जनाएको छ ।