काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहारप्रति असन्तुष्ट रहेको बताउनुभएको छ ।खेलाडी र प्रशिक्षक अब्दुल्लाहबीचको विवाद बाहिर आएसँगै किरण आफ्ना सहकर्मीको पक्षमा देखिनुभएको हो ।
हाल माल्दिभ्समा व्यवसायिक खेल खेलिरहेका किरणले भन्नुभयो, “राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ ।”यसअघि एसियन कप २०२३ छनोटका लागि खेलाडी राखिएको होटेलको विषयमा रक्षक रोहित चन्दले प्रशिक्षक अब्दुल्लाहसँग कुरा राख्दा उनले टिमबाट निकाल्ने प्रयास गरेसँगै अन्य ९ खेलाडीले सहमति जनाउँदै होटेलसहित टिम अभ्यास सत्र छाडेका थिए ।
यस्तै, किरणले जायज माग उठाउदा क्याम्प नै छोड्न लगाउनु सही नभएको र आफू खेलाडी पक्षमा रहेको धारणा राख्नुभएको हो । “राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सही होइन । टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैँ खेलाडीको पक्षमा छु । जय नेपाल,” किरण भन्नुहुन्छ । नागरिक खबरबाट