म्याग्दी । भन्न त मान्छेले “आपदविपदमा पुकारा गर्ने हो भने भगवान मिल्छन्” भन्छन् तर चाहिएको बेलामा मसानघाटमा मुर्दा पनि मिल्दैन । कुरो विसं २०५६ साल भदौतिरको हो । एकजना भाइलाई नभेटी नहुने काम प¥यो । उद्योगधन्दा, बन्दव्यापार, खेतीपाती केही पनि नगर्ने मैजस्तो बसीखाने अल्छी, बेरोजगार थियो मेरो भाइ । मान्छे निकम्मा, बेकम्मा नै हो । उसलाई भेट्नु पर्ने खण्डखातिर मबाहेक अरुको पर्दैनथ्यो होला । भेट्नै परे दिन, बार, समय र ठाउँ निश्चित गरिरहनु पर्ने स्थिति हुँदैनथ्यो । बेनीको सानू बजार, हरेक गल्ली र चोकहरुको दिनको दशपटक गस्ती गरिरहन्थ्यो । नभेटुँ भने पनि कतै न कतै भेटिन्थ्यो । नेदेखुँ भन्दा पनि देखिन्थ्यो ।
त्यसदिन भने बेनीको तीन चक्कर लगाउँदा पनि उसलाई भेट्न सकिएन । बजारको फन्को मार्दा पनि फेला पार्नै सकिएन । न ऊ त फेला प¥यो न उसलाई देखे भेटेको एउटै मानिस भेटियो । स्यालको सिंग झै गायव भैदियो मेरो भाइ । कतै बाहिर तिर लागेको भए कसै न कसैको आँखा पर्नै पर्ने थियोे । बाहिर लागेको कसैले देखेन रे ! उसलाई नचिन्ने मानिस बजारमा कोही थिएन । त्यो दिनभर साँचै भूमिगत भैदियो । कम्यूनिष्ट फोवियाग्रस्त उ माओवादीहरुको संगतमा परेर भूमिगत हुने सम्भावना त छँदै थिएन । जेहोस् त्यो दिन मेरो भाइ मेरा लागि दुर्लभ बनिदियो ।
“मुल्लाका दौड मस्जिद तक” । मेरो भाइ खोलोडाँडो काटेर जाने खालको छँदै थिएन । आईतबार विहानै ‘चिया खाउँ न भाउजु’ भन्दै मेरै डेरामा टुप्लुक्कियो । ‘एई ! हिजो कता मुन्टियाथिस्’ भनेर सोधेको त उसको जवाफले रनभुल्ल पारिदियो । लाटीले केरा हेरे झैं ट्वाल्ल परेर उसको अनुहार हेर्नु पर्ने बनायो । हेर्नुहोस्न, त्यो दिन त उ ‘एजुकेसन सेन्टरमा भर्ना भएको रे !’ एक त मेरो फकन्दास भाइ, त्यसमाथि बेनीमा खुलेको एजुकेशन सेन्टर ! ‘नाङ्गाको देशमा लगौटी’ भन्या जस्तो पढाई लेखाई, कला साहित्यबाट कोसौं टाढा भाग्ने बेनीको परिवेशमा कताबाट आयो यो एजुकेशन सेन्टर !! नयाँ कुरा सिक्ने जान्ने रुचि जिज्ञासा मेरो भाइमा छँदै थिएन । बेनी बजारमा ‘एजुकेशन सेन्टर’ नामको संस्था औपचारिक रुपमा खुलेको जानकारी पनि पाइएको थिएन । तुक न छन्दको कुराले जिल्लाउने नै भयो ।
हो, हुन त उन्ताका नेपालमा एनजीओ आइएनजीओहरुको आजकाल वित्तीय संस्थाहरुको जस्तै बाढी आईरहेको थियो । गैरसरकारी संस्थाहरुको संख्या यति धेरै भैसकेको थियो कि नयाँ संस्था खोलेर अर्थ लाग्ने नयाँ नाम जुराउन धौ धौ पथ्र्यो । नयाँ संस्थाको आकर्षक नाम जुराउन खोज्ने हो भने फलानो–प्रथम, तिलानो–द्वितीय, ढिस्कानो–तृतीय भन्नु पर्ने अवस्था आइसकेको थियो । स्वभावतः बेनीबजारमा खुलेको ‘एजुकेशन सेन्टर’ को नाम सुन्दा बोर्डिङ स्कुल, टेक्निकल ईन्स्टिच्युट, एन.जी.अो. वा कुनै विशेष विषय अध्ययन अध्यापन गर्ने संस्था खुल्यो होला भन्ने लाग्ने नै भो । त्यस्तो कुनै वैधानिक संस्था औपचारिक रुपमा बेनीबजारमा खुलेकै थिएन । कमसेकम त्यस्तो जानकारी सार्वजनिक भएको थिएन ।
कुरो के रहेछ भने हरेक टोल छिमेकका डेरा चोटाहरुमा बिदाको दिन कटाउन ‘चण्डी पाठ’ को कार्यक्रम सञ्चालन गरिँदो रहेछ । अर्थात उचित दक्षिणा टक्र्याउन सक्ने सबैले ५२ पत्रवाला चण्डीको पोस्तक धित मरुन्ज्याल पाठगर्न पाउने व्यवस्था मिलाईएको हुँदो रहेछ । उक्त कार्यक्रममा प्रतिष्ठित साहुमहाजन, उद्योगीव्यवसायी, समाजसेवी, राजनीतिज्ञ र वेईलमी वेरोजगारहरुलाई विनाभेदभाव सामेल गराईँदो रहेछ । र….विशेष प्राथमिकता कर्मचारी, शिक्षक र कार्यालय प्रमुखहरुलाई दिँईंदो रहेछ । अर्थात हरेक विदापर्वका दिनमा बेनीबजारका कोठा चोटाहरुमा जम्ने साना ठूला जुवातासका खालहरुलाई कुनै विनोदी महानुभावले नाम जुराईदिनु भएको रहेछ– एजुकेसन सेन्टर !
हो, उन्ताका बेनी बजारमा बिदाको दिन बिताउन गाह्रो थियो । समय परिस्थिति र वातावरणले मानिसलाई गलत प्रवृत्तितर्फ उन्मुख गराउँछ । त्यसैले होला समय कटाउने निहुँमा सबै प्रतिष्ठित इज्जतदारहरु जुवातास खेल्ने गर्दारहेछन् । पुलिस प्रशासनले पनि आँखा चिम्लिदिँदो रहेछ । सानू होस् वा ठूलो, निहुँ जेसुकैलाई बनाइयोेस् अपराध आखिर अपराध नै हो । विनाअनुमति किसानका बारीहरुको एकै घोगा खोर्सानी टिप्नु पनि त चोरी नै हो । काम गरिदिए वापत कसैसँग नियम विपरित एकै रुपैयाँ माग्नु घुसखोरी नै हो । सामाजिक रीति स्थिति र नीति नियमहरु ठूलाबडाहरुबाट मिचिएकै हुन्छन् । नबुझ्ने ले त बुझेन बुझेन, बुझ्नेले त ऐन कानूनको मर्यादा तोड्नु हुदैनथ्यो । ऐन कानूनको हुर्मत लिने पहिलो पंक्तिमा कानुनका रखवालाहरु नै उभिदिन लाज मान्दैनन् र पो !
जेगर्दा पनि हुने हो भने विधिवत “एजुकेशन सेन्टर” नामको संस्था दर्ता गरेर “खुल्यो ! खुल्यो !! भर्ना खुल्यो !!! न्याय, प्रशासन र प्रहरी प्रमुखलाई निःशुल्क भर्ना लिईने ! ठूलावडाहरुलाई पनि विशेष प्राथमिकता दिईने– एजुकेशन सेन्टर खुल्यो !!” भनेर सार्वजनिक सूचना पर्खाल र भित्ताहरुमा टाँसिदिए भयो ।एकतन्त्रीय जहानीया शासनको कालरात्रीकाल भनेर मानिने राणाशासनको बेलामा पनि बाह्रमासे जुवा प्रतिबन्धित थियो । जुवा खेल्न खेलाउनका निमित्त विशेष दिनहरु निश्चित गरिएका थिए रे ।एककाइसौं शताब्दीमा पाइला राखिसक्दा पनि बाह्रमासे जुवातासलाई अवैधानिक, अनैतिक र असामाजिक क्रियाकलाप हाम्रो समाजले ठान्दैनं । कानूनका किताबमा बाह्रमासे जुवातासलाई दण्डनीय अपराध मानिएकै छ । नागरिकहरुमा सामाजिक चिन्तन र नैतिक दायित्वबोधको विकास हुनु महत्वको विषय हो । ऐनकानुनको मर्यादाराख्ने अभ्यास ऐनकानुन पालना गराउनुपर्ने अधिकारीले नै नगरिदिए पछि त्यस्तै त हो ! समाजमा भाँडभैलो त मच्चिने नै भो ।
भदौ १२ को फैसला भन्दा वित्तिकै कुन मुद्दा भन्ने प्रश्नै उठ्दैन । आजसम्म पनि हरेक सचेत नेपालीले मनमोहन अधिकारीले गरेको संसद विघटनको सिफारिसलाई अवैधानिक ठहराइएको दिन भनेर सम्झिन्छ । भदौ १२ एउटा प्रतीक दिन बनेको छ । विशेष घटना व्यापक जनचासोको विषय बन्दछ ।चर्चा परिचर्चाको विषय बन्छ । घटना सम्झने मात्र होइन, घटनाको पक्ष विपक्षमा समाज विभाजित हुन्छ । भदौ १२ को फैसला निर्विवाद रहनु थिएन, रहेन । विपक्षमा रहनेहरुले विरोध जनाए, पक्षमा रहनेहरुले समर्थन गरे ।समर्थन वा विरोधमा सैद्धान्तिक कारण मात्रै थिएन । नितान्त नीजी सोच, धारणा र लाभहानीलाई हेरेर पनि समर्थन वा विरोध गरिएको थियो । बेनीबजारमा पनि त्यस घटनाको विरोधमा एउटा घटना भएको थियो र त्यो निकै चर्चित पनि बनेको थियो ।
अबिरकुमार दाइले शिक्षण पेशा छोडेको दशकौं बितिसकेको थियो । आजीवीकाको निमित्त सानो तिनो किराना पसल राख्नु भएको थियो । बजारको बसाई, आयश्रोतको सीमितता, बढ्दो परिवार र महँगी, जीवन निर्वाह गर्नु कठिनै त हुन्छ नी । काँठ, बजार, गाउँ, पाखाबाट बजार झुम्मिने बेरोजगार मानिसहरु जम्मा हुने र समय बिताउने ठाँउ भएको थियो– अबिरदाइको घर । अर्थात दाइकोमा दिनहुँ सानो तिनो खाल जम्थ्यो । फाल्तु फक्कडहरुको समय पनि बित्ने, अबिरदाइलाई पनि २÷४ पैसा घरव्यवहार थेग्नमा थपथाप हुने । धन्दा राम्रै चलेको थियो । एमालेको नौ महिने शासनकालमा अविवेकी प्रहरी प्रशासनले त्यसमा रोक लगाइदिएछ । अबिरदाइलाई मर्का प¥यो । रोजगारी गुमेको कुरा कसका लागि राम्रो र रुचिकर हुन्छ र ? एमालेको सरकार ढल्दा अबिरदाइको रोजगारीको ढोका पुनः खुल्ने सम्भावना हुन सक्थ्यो । त्यसैले अबिरदाइ भदौ १२ को फैसलाको पक्षमा उभिनु स्वाभाविक थियो । गाउन नाच्न सीपालु मान्छे फैसला हुँदाको दिन साँच्चिकै नाचिदिनु भएछ । समाजले अन्यथा पनि ठानेन ।
त्यतिखेर भर्खर भर्खर बेनीबजारमा शनिबार बजार बन्द गर्ने नयाँ परम्पराको थालनी भएको थियो । सानू बजार, त्यसमाथि गाउँ घरतिरबाट मानिसहरु झर्न छोडेपछि बेनीबजार शून्य शून्य लाग्न थालेको थियो । मध्यदिनमै अर्धरात्रीको मसानघाटकै सम्झना दिलाउँथ्यो शनिबारले । शनिबारको बेनीबजारले युद्धग्रस्त शहरको झझल्को दिन्थ्यो भन्दा पनि फरक पर्दैनथ्यो । बजार, चोक, गल्ली, चैतारी, सडक सबै निर्जन, निरव । एकान्तमा रम्ने बानी बसाल्न नसक्नेहरुका लागि त शनिवारको दिन अभिशाप सावित भैदिन्थ्यो ।
शनिबारको दिन भुराभुरी, बुढाबुढी, पसलेव्यापारी, शिक्षक समाजसेवी, राजनीतिक कार्यकर्ता, सरकारी कर्मचारीहरु कसैको पनि दर्शन मिल्दैनथ्यो । साँच्चिनै त्यत्तिका मानिसहरु त्यति सानो बजारमा कसरी गुप्तबास बस्न सक्छन् होला भनेर आश्चर्य लाग्थ्यो । कौेरवसँग जुवामा सर्वस्व हारेका पाण्डवहरु वनबासको अन्तिम बर्ष गुप्तबास बसे झैं सप्ताहको अन्तिम दिन शनिबार बेनीबजारका मानिसहरु भूमिगत हुन्थे । भूमिगत रहेका भनिने कम्युनिष्ट नेता मोहनविक्रम सिंह ठाउँकुठाउँ सार्वजनिक हुन थालेका थिए । नेकपा माओवादीका नेता प्रचण्डले पनि आफ्नो फोटो सार्वजनिक गरेर भूमिगत जीवनप्रतिको वितृष्णा प्रकट गर्न थालेको बेलामा बिनेलहरुमा त्यो कस्तो नौलो सनक चढ्न थालेको थियो भनेर बुझन कठिन थियो ।
‘बानियाँ जी, तपाईको बजारमा मजस्तो जुवातास खेल्न नजान्ने, रक्सीमा डुब्न पनि नसक्ने अनाडीका लागि त शनिबारको दिन कटाउन कैद काटे बराबर हुँदो रहेछ । कोठा भित्र कति थन्किइरहनु ? बाहिर निस्कौं भने निर्जन सडकमा एक्लै के गस्ती गरिरहनु ?’ मन बहलाउने, दिन काट्ने कुनै साधन छैन ।वैरागलाग्दो शनिबारको सन्दर्भमा एकजना नवआगन्तुक कार्यालय प्रमुखको त्यो अभिव्यक्तिले झर्लक्क अबिरदाइको नाचको सम्झना दिलाएथ्यो । होतनी, हामी बेनीबजारका रैथानेहरु चौपट्टै अविवेकी छौं । अरुहरुको पीर मर्काको त वास्तै गर्दैनौं । घरपरिवार छोडेर व्यापार र जागिरको सिलसिलामा बेनीँ आउनेहरुका लागि फूर्सदको समय बिताउन कति गाह्रो हुन्छ होला भनेर पार्क, बगैंचा, पुस्तकालय, थिएटर, क्लव आदि दिल बहलाउने ठाउँहरुको व्यवस्था गर्नेतिर हामी कसैको ध्यान गएकै छैन । उसै त सानो ठाउँ त्यसैमा पनि झन् मानवशून्य भए पछि पट्यारलाग्दो त हुने नै भयो । अनि समय बिताउन राम्रो नराम्रो लत कुलतहरुतिर लाग्नुको कुन विकल्प रहने भयो त विचराहरुसंग ? विवशताको अनिवार्य विकल्प बन्ने नै भो “एजुकेशन सेन्टर” !
बानी निर्लज्ज हुन्छ । बानी लागिसकेपछि मान्छेले कर्तव्याकर्तव्यको पनि ख्याल गर्दैन । जनसेवाका लागि खटिनुपर्ने कर्मचारीलाई खराब लत लाग्यो भने के होला ? कल्पना गरौं त ! घर चोरी भएको रिपोर्ट दर्ता गराउन जाँदा प्रहरीप्रमुखलाई भेटेन भने ? शान्ति सुरक्षा सम्बन्धि समस्या लिएर आएको मानिसले प्रमुख जिल्ला अधिकारीलाई भेटेन भने ? आर्थिक समस्याग्रस्त मानिसहरुले सुदखोर साहुलाई भेट्न पाएनन् भने ? बैंक हाकिमलाई नभेट्दा, डक्टरहरुलाई नभेट्दा, वकिलहरुलाई भेट्न नसक्दा ? समाजका अन्य प्रतिष्ठित भलाद्मीहरुलाई नभेट्दा उनीहरुले अबिरदाइ नाचेको घटना सम्झिन्थे होला ।
सबै प्रतिष्ठित भद्र भलादमी र कार्यालय प्रमुखहरु रक्सी र जुवातासमा रमाएको कल्पना गथ्र्यो होला र मनमनै भन्थ्यो होला ‘अबिरदाइ मात्रै कहाँ हो र भदौ १२ को फैसला सुन्दा त मनमनै सबै नाचेकै त रहेछन् नी ! सिडिओ, डिएसपी, बैंक मेनेजर, डक्टर, वकिल, बिर्खे साहु सबका सब रमाएकै त रहेछन् नि !’ यो अनुमानित कल्पनाले मलाई अलिकता नरमाईलो महसुस भएथ्योे । मन अलिकता अमिलिएथ्यो । हो त, आम नागरिकमा व्यवस्थाप्रतिको आस्था श्रद्धा घट्नुको कारणबाट अराजकता र विद्रोहको भ्रुण स्थापित हुने त हो ।
मालिका प्रेस साप्ताहिक पत्रिकाबाट साभार