बेनी । म्याग्दीको बेनीमा बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० सुरु भएको छ । बेनीनगरपालिकाको आयोजनामा बिहिवार सुरु भएको चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवद्र्धन गर्न आयोजित प्रतियोगितामा बेनी नगरपालिकाभित्रका विभिन्न २५ विद्यालयले सहभागीता जनाएका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले खेलकुदले विद्यार्थीहरुमा प्रतिस्पर्धी क्षमताको विकास गराउनुको साथै लुकेर रहेको खेल प्रतिभाको पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बेनीको खुलामञ्चलाई स्तरीय रंगशालाको रुपमा विकास गर्न तीन तहकै सरकारबिचमा सहकार्य गरि प्राथमिकतामा राख्न आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी विद्याका विभिन्न ३७८ इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा बिजेतालाई नगद रु ५१ हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिने नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् प्रतियोगिताका संयोजक चक्र केसीले जानकारी दिनुभयो ।
प्रतियोगितामा दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश : नगद रु ४० हजार र ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिनेछ । प्रतियोगितामा समावेश छात्र भबिलल खेलमा १० र छात्रा भलिबल खेलमा ४ विद्यालयले सहभागीता जनाएका छन् । कबड्डी खेलमा छात्र र छात्रा तर्फ ६/६ विद्यालय सहभागी रहेको नगरपालिकाले जनाएको छ ।
त्यसैगरि एथलेटिक्सतर्फ २५ र कँरातेमा ४ विद्यालयले सहभागीता जनाएका छन् । तेक्वान्दो खेलमा छात्रतर्फ १० र छात्रा ४ विद्यालय, उस्सु खेतमा छात्रातर्फ ५ र छात्रतर्फ ४ विद्यालयले सहभागीता जनाएका छन् । यस बर्ष नगरपालिकाले प्रतियोगिता सञ्चालन अघि नै प्रधानध्यापकहरुको बैठकमार्फत न्यूनतम पाँच विद्यालय सहभागिता नरहेको खेलको अंक उपाधिको अंकतालिकामा गणना नगर्ने निर्णय गरे बमोजिम प्रतियोगिता सञ्चालन गराउन सुरु गरिएको प्रतियोगिताका संयोजक केसीले बताउनुभयो ।
कार्यक्रममा संविधासभा सदस्य नवराज शर्मा र गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले हरेक बर्ष आयोजना हुने विद्यालय स्तरका प्रतियोगिताहरुले खेलाडीहरुको प्रतिभा पहिचान गरि क्षेत्रिय र राष्ट्रिय स्तरमा पु¥याउन सहयोगी भूमिका खेलेकामा जोड दिनुभयो ।
नगरपालिकाका उपमेयर ज्योति लामिछानेले खेलकुद गतिविधिमा भलिबल तर्फ छात्रहरुको तुलनामा छात्राहरुमा न्यून विद्यालयले सहभागीता जनाएको बताउँदै विद्यालयहरुले छात्र र छात्राहरुलाई समान अवसर दिनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय स्तरमा आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीहरुमा लुकेर रहेको खेल प्रतिभाको प्रस्फुटनमा टेवा मिल्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले खेलकुद प्रतियोगिताले खेल क्षमताको पहिचान र विद्यार्थीहरुलाई अनुसासीत बनाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले मार्चपास गरेका थिए भने बिभिन्न मनोरञ्जनात्मक नृत्य समेत प्रस्तुत गरेका थिए ।