दग्नाममा बाढीपहिरो प्रभावित परिवारलाई राहत वितरण

  धनिलाल गर्बुजा

दग्नाम । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–४, दग्नामका बाढीपहिरा प्रभावितलाई राहत सामाग्री वितरण गरिएको छ । क्रिष्चियन समाज म्याग्दीको समन्वयमा असल छिमेकी नेपाल पोखराले सोमबार घटनास्थलमै पुगेर  वडाका जनप्रतिनिधिहरुको रोहवरमा एकलाख छ हजार रुपैयाँ बराबरको खाद्यान्नसहितको राहत सामाग्री वितरण गरेको हो ।

पूर्णक्षति भएका चार परिवार र उच्च जोखिममा रहेका पाँच परिवारलाई राहत सामाग्री वितरण गरिएको असल छिमेकी नेपालका परियोजना अधिकृत सुरेन्द्र दासले बताउनुभयो । उहाँका अनुसार ,पूर्णक्षति भएका ईन्द्रमान थजाली, झङ्ग बहादुर सेरपुजा, कृष्णमाया गर्बुजा र बल प्रसाद पुनलाई प्रतिपरिवार एघार हजार पाँचसय रुपैयाँ बराबरको जिरामसिना २५ केजी एक बोरा चामल सहित खाद्यान्न सेत, स्वास्थ्य समाग्री, बलाङकेत २ थान, त्रिपाल १ थान र पिफम १ थान लगायतका समाग्री बितरण गरिएको छ ।

त्यसैगरी, उच्च जोखिममा रहेका पदम गर्बुजा, याम बहादुर गर्बुजा, रितु परियार, भुल बहादुर तिलिजा र हस्त बहादुर गर्बुजाका प्रतिपरिवारलाई नौ हजार सातसय रुपैयाँ बराबरको खाद्यान्न सेत, स्वास्थ्य समाग्री, बलाङकेत २ थान र पिफम १ थान लगायतका समाग्री वितरण गरिएको छ ।

राहत वितरण कार्यक्रममा रघुगंगा गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष पविन गर्बुजा, वडा सदस्य राजकुमारी गर्बुजा, जनता माविका प्रअ खड्क गर्बुजा, पूर्व प्रअ गुन पुन संस्थाको तर्फबाट असल छिमेकी नेपालका उपाध्यक्ष मुक्तिनाथ ढकाल, परियोजना अधिकृत सुरेन्द्र दास क्रिष्चियन समाज म्याग्दीका अध्यक्ष सुर्य तिलिजा लगायतका सहभागिता रहेको थियो ।

असार २७ गतेको अत्याधिक बर्षाले दग्नामको जनता माविको चारकोठे भवन भत्किएको छ । भवन पर्खाल सहित भत्किनुका साथै  विद्यालय संगै रहेको इन्द्रमान थजालीको घर पूर्ण रुपमा क्षती भएको थियो । जनता माविको भत्किएको कक्षा कोठा व्यवस्थापन गर्न १५ बन्डल जस्ता पाता सहयोग गर्ने असल छिमेकी नेपालका उपाध्यक्ष ढकालले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार