एसईईमा उत्कृष्ट अंक ल्याउने दुवै हात नभएकी पवित्रालाई वडा कार्यालयको नगद सहित सम्मान

  म्याग्दी न्युज संवाददाता

बेनी । एसईईमा उत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुन सफल दुवै हात नभएकी पवित्रा बिकलाई वडा कार्यालयले नगद सहित सम्मान गरेको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४,वडा कार्यालयले एक कार्यक्रमका विच विकलाई  २५ हजार रुपैयाँ नगद सहित सम्मानपत्र र दाेसल्ला ओढाएर सम्मान गरेको हो ।

सोही वडाको नारच्याङ घर भई हाल पोखरा बस्दै आउनुभएकी पवित्रलाई कार्यवाहक वडा अध्यक्ष भिमबहादुर सेरपुजा,वडा सदस्य श्याम पुर्जा लगायतले थप उज्वल भविष्यको कामना गर्दै नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । एसईईको नतीजा अनुसार पवित्राले ३.१२ जीपिए ल्याएर उत्तीर्ण हुनुभएको थियो । दुवै हात नभएपनि हिम्मत नहारी एसईईमा उत्कृष्ट नतिजा ल्याएर उत्तिर्ण हुनुभएकी पवित्राको शैक्षिक प्रगतिमा थप हौसला प्रदान गर्न सम्मान गरिएको कार्यवाहक वडा अध्यक्ष सेरपुजाले बताउनुभयो ।

पवित्रा रामबजारस्थित एसओ एस हर्मन माइनर स्कुलबाट परीक्षामा सहभागी हुनुभएको थियो।पोखराको फलेपाटनस्थित सिद्ध मावि परीक्षा केन्द्रमा विद्यालयले उपलब्ध गराएको सहयोगीको भरमा पवित्राले परीक्षा दिनुभएको थियो । ९ कक्षामा पढ्ने सहयोगी बिभूती पाण्डेले उहाँलाई सहयोग गर्नुभएको थियो। पवित्राको देब्रे हातै छैन । कुहिनासम्म ठिकै रहेको र त्यसपछि एउटा सानो औलामात्रै बनेर निस्किएको छ दाहिने हात पनि । त्यसबाहेक अरु शारीरिकरुपमा उहाँ दुरुस्त हुनुहुन्छ । हात नभए पनि उनले खुट्टाको औंलाको सहायताले कलम च्यापेर लेख्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार