तीन वटा वामपन्थी शक्तिबीच एकताबारे सकारात्मक कुरा भएको छ: प्रचण्ड

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन वटा वामपन्थी दलका नेताहरुसँग एकताका लागि वार्ता भएको बताउनुभएको छ।

शनिबार दिउँसो माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीनिकट शिक्षक संगठनबीच एकता घोषणा कार्यक्रमा प्रचण्डले राजनीतिक ध्रुविकरणको विषयमा भएको उक्त छलफल सकारात्मक भएको पनि बताउनुभएको छ।

आज बिहान मात्रै एकताको सन्दर्भमा, राजनीतिक ध्रुविकरणकै सन्दर्भमा तीन वटा वामपन्थी पार्टीका नेताहरुसँग मेरो संवाद भएको थियो। बढो सकारात्मक संवाद भएको छ,’ उहाँले भन्नुभयो।

अध्यक्ष प्रचण्ड को-को सँग छलफल भएको भन्ने विषय भने खुलाउनुभएन।

ती हिजोका माओवादी धारसँग सम्बन्धित पनि हुनुहुन्थ्यो। त्यो भन्दा बाहिरका वामपन्थी समाजवादी धारसँग सम्बन्धित पनि हुनुहुन्थ्यो। उहाँहरु सबैको अब एकतावद्ध भएर अघि बढ्नुको विकल्प छैन भन्ने एक स्वर थियो,’ प्रचण्डले भन्नुभयो।

उहाँले नेपालको वामपन्थी आन्दोलनको अगाडि, नेपालको लोकतान्त्रिक आन्दोलनको आवश्यकताको अगाडि वा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई ठिक ढंगले कार्यान्वयन गर्ने र त्यसलाई परिमार्जन गर्नका निम्ति पनि एकताको विकल्प छैन भन्ने कुरामा सैद्धान्तिक सहमति भएको बताउनुभयो।

बिहानमात्रै तीन वटा राजनीतिक दलसँग एकताको कुरा हुनु सकारात्मक र अहिले दुई शिक्षक संगठन एकतावद्ध हुने घोषणा गर्नु यो संयोग मात्रै मलाई लाग्दैन। यो अहिले देशको लोकतान्त्रिक आन्दोलनको आवश्यकता हो,’ उहाँले भन्नुभयो।सेतोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार