दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रघुगंगा गाउँपालिकालाई

  धनिलाल गर्बुजा

म्याग्दी। म्याग्दीमा दशौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा गाउँपालिकाले जितेको छ । मङ्गलबार जिल्लाको बेनीमा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, पाँच रजत र चार कास्य पदक सहित रघुगंगा विजयी भएको हो । जिल्ला खेलकुद विकास समिति, म्याग्दीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सात स्वर्ण, १० रजत र सात कास्य पदक जितेको बेनी नगरपालिका दृतीय भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । यसैगरी पाँच स्वर्ण, सात रजत र आठ कास्य पदक जितेको मालिका गाउँपालिका तेस्रो भएको छ ।

छ वटा स्थानीय तह स्तरमा यसअघि भएको विद्यालय स्तरीय प्रतियोगितामा बिजयी खेलाडीहरुबीच प्रतिस्पर्धा भएको थियो । आगामी फागुन ५ र ६ गते गोरखामा हुन लागेको प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनौटका लागि जिल्ला स्तरमा प्रतियोगिता गरिएको हो । प्रथम, दृतीय र तृतीय हुने स्थानीय तहले २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद सहित राष्ट्रपति रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । भलिबल, कवड्डी, एथलेटिक्स र मार्सल आट्र्स बिधाका ३० वटा बिधामा ९० वटा पदकका लागि तीन सय जना भन्दा बढी विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।

विजयी खेलाडीहरुलाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । धवलागिरी गाउँपालिकाले तीन स्वर्ण, चार रजत र पाँच कास्य, मङ्गला गाउँपालिकाले एक स्वर्ण, तीन रजत र दुई कास्य, अन्नपूर्ण गाउँपालिकाले तीन स्वर्ण, एक रजत र चार कास्य पदक जितेका छन् । प्रदेश स्तरीय प्रतियोगिताका लागि भलिवलमा २०, कबड्डीमा २०, मार्शल आर्टका ३६ र एथलेटिक्सका २४ जना खेलाडी छनौट गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसीले बताउनुभयो ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार