महाशिवरात्रीमा गलेश्वर मन्दिरमा ४ लाख ७० हजार बढी भेटी संकलन

गलेश्वर, ४ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर मन्दिरमा महाशिवरात्री पर्वको अवसरमा ४ लाख ७० हजार ९१६ रुपैयाँ भेटी संकलन भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले सोमबार सार्वजनिक रूपमा भेटी गणना गरी उक्त विवरण सार्वजनिक गरेको कोषका कार्यलय सचिव तेजेन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो ।

महाशिवरात्रीका दिन देशका विभिन्न स्थानबाट आएका हजारौं भक्तजनले पूजाअर्चना गर्दै चढाएको भेटी मूल मन्दिर तथा अन्य स्थानहरूबाट संकलन गरिएको हो । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार मूल मन्दिरसहित विभिन्न स्थानबाट ३ लाख ८५ हजार ५३१ रुपैयाँ, रसिदबाट ४४ हजार १४५ रुपैयाँ तथा व्यापारिक स्थल भाडाबाट ४४ हजार ४०० रुपैयाँ संकलन भएको छ ।

मन्दिरबाट संकलन हुने भेटी रकम पूर्वाधार निर्माण, मन्दिर संरक्षण, परिसर सौन्दर्यीकरण तथा गलेश्वर क्षेत्रको समग्र विकासमा खर्च गरिँदै आएको छ । साथै, शालिग्राम वेद विद्याश्रम, ज्येष्ठ नागरिक आश्रम, कोषको कार्यालय सञ्चालन तथा अन्य भौतिक पूर्वाधार निर्माणमा समेत उक्त रकम उपयोग गरिने कोषका अध्यक्ष रेग्मीले उल्लेख गर्नुभयो ।

भेटी गणना कार्य कोषका पदाधिकारी, कर्मचारी, गलेश्वर बजारवासी, आमासमूह, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको उपस्थितिमा पारदर्शी ढंगले गणन गरि सार्वजनिक गरिन्छ । कोषका अनुसार साउनका सोमबार, बालाचतुर्दशी, शिवरात्रीको भोलिपल्ट तथा अन्य समयमा मासिक रूपमा पनि भेटी गणना गर्ने प्रचलन रहेको छ ।

कोषका उपाध्यक्ष बम बहादुर पुन मगरका अनुसार भक्तजनलाई सहज रूपमा पूजा व्यवस्थापन गर्न बिभिन्न २४ वटा उपसमिति गठन गरी काम अगाडि बढाइएको छ । साथै, मेलाका क्रममा हुन सक्ने चोरी तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न सिसीक्यामेरा जडान गरी निगरानीको व्यवस्था समेत मिलाइएको छ ।

महाशिवरात्रीका अवसरमा कालीगण्डकी नदीमा स्नान गरी गलेश्वरमा पूजा–अर्चना गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार