म्याग्दीको कालिगण्डकी किनारमा साढे दुई करोड दीप प्रज्वलन

  म्याग्दी न्यूज संवाददाता

बेनी, १३ चैत । हिन्दु धर्मावलम्बीहरूको पर्व रामनवमीको अवसरमा म्याग्दीको कालिगण्डकी नदी किनारमा साढे दुई करोडभन्दा बढी दीप प्रज्वलन गरिएको छ । विश्व हिन्दु महासंघ म्याग्दीको आयोजनामा बेनी नगरपालिका–७ स्थित जयन्ती मंगला र कालीगण्डकीको संगमस्थल नजिक कृष्णगण्डकी किनारमा पितृ उद्धार, स्मरण तथा विश्व शान्तिको कामनासहित भव्य रूपमा पूजाआजा र दीप प्रज्वलन गरिएको महासंघ जिल्ला कार्यसमिति म्याग्दीका सचिव बलराम शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा म्याग्दी, बागलुङ र पर्वत जिल्लासहित देशका विभिन्न स्थानबाट आएका भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो । करिब २२० भन्दा बढी कर्तासहित हजारौँ भक्तजनले दीप प्रज्वलन गरेको महासंघका अध्यक्ष डण्डपाणी उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार महासंघले सुरुमा १ करोड ८ लाख दीप प्रज्वलन गर्ने लक्ष्य राखे पनि अपेक्षाभन्दा बढी भक्तजनको उपस्थिति हुँदा साढे २ करोडभन्दा बढी दीप प्रज्वलन गरिएको छ । बिहानैदेखि नदी किनारमा भक्तजनको भीड लागेको थियो भने भजन समूह तथा आमा समूहहरूले फूलप्रसाद वितरण गरेका थिए ।

कार्यक्रममा नेपाल प्रहरीका प्रहरी निरीक्षक सागर तिमिल्सिना र गोविन्द सुबेदीसहितको टोलीले भीड व्यवस्थापन गरेका थिए । विश्वमै शालग्राम शिला पाइने कालिगण्डकी नदीको संरक्षण र प्रचारप्रसारका लागि वडा कार्यालयमार्फत तटीय क्षेत्रमा व्यवस्थापन गरिएको वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

रामनवमीको अवसरमा बेनीबजारमा पहिलोपटक यति ठूलो स्तरमा दीप प्रज्वलन तथा शान्ति प्रार्थना कार्यक्रम आयोजना गरिएको महासंघका उपाध्यक्ष विक्रम श्रेष्ठले बताउनुभयो । उहाँले हिन्दु धर्मका विभिन्न पर्वहरूलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

हिन्दु धर्ममा देवी–देवताका पूजाअर्चनामा दीप प्रज्वलन अनिवार्य मानिने भएकाले विधिपूर्वक पूजाआजा सम्पन्न गरिएको पण्डित ठाकुरप्रसाद शर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार