दग्नाम, ५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा सयौँ वर्ष पुरानो सांस्कृतिक परम्परा ‘लिङ्गो जुधाउने’ प्रतियोगिता उल्लासपूर्वक सम्पन्न भएको छ । परम्पराअनुसार प्रत्येक वर्ष जेठ महिनाको उजेली मंगलबार भूमे पूजासहित आयोजना हुने लिङ्गो जुधाइ प्रतियोगितामा यस वर्ष कान्छी गाउँ विजयी भएको छ । यो प्रतियोगिता स्थानीय मगर समुदायको प्रकृति पूजा र समृद्धिको कामनासँग जोडिएको विशेष सांस्कृतिक परम्परा हो ।
विशेषगरी प्रकृति पूजाको रूपमा मानिने भूमे देवतालाई खुसी बनाउन दग्नाममा दुई गाउँबीच लिङ्गो जुधाउने चलन रहिआएको छ । स्थानीय परम्पराअनुसार भूमेथानमा गर्बुजा थरका पुजारीले पूजा गराउने प्रचलन रहेको छ ।

जिल्लाका विभिन्न ठाउँमा मगर समुदायले भूमे पूजा गरे पनि दग्नामको भूमे पूजा संस्कार र संस्कृति अन्य स्थानको भन्दा पृथक रहेको भूमेथान संरक्षण समितिका अध्यक्ष हेमलाल गर्बुजाले बताउनुभयो । उहाँका अनुसार जेठा भूमेलाई साँढेको बलि दिएर पूजा सम्पन्न गरेपछि छेमाहरू र पुजारीले राखेको छ्याङ–जाँड चढाइन्छ । त्यसपछि छ्याङलाई भूमे पूजाको मुख्य प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ ।

नेपाल सरकारका पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ पनि भूमे पूजामा सहभागी भई लिङ्गो जुधाइ प्रतियोगिताको अवलोकन गर्नुभएको थियो । भूमेथान क्षेत्रको धार्मिक महत्व जोगाउँदै पूर्वाधार विस्तारका लागि प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी थप योजना अघि बढाइने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । “पुर्खादेखि चल्दै आएको परम्परा र मान्यताअनुसार भूमे पूजा हुँदै आएको छ, अग्रजहरूले गर्दै आएको चलनलाई अहिले निरन्तरता दिइएको हो,” पूर्व राज्यमन्त्री गर्बुजाले भन्नुभयो ।

भूमेथान क्षेत्रमा आउने श्रद्धालु भक्तजनको सहजताका लागि आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालय तथा खानेपानीजस्ता आधारभूत भौतिक संरचना निर्माण गरिएको वडा अध्यक्ष पविन गर्बुजाले जानकारी दिनुभयो । यसको संरक्षण र प्रवद्र्धन गर्न आफुले सक्दो पहल गर्ने समेत बताउनुभयो ।

भूमे पूजाको मुख्य आकर्षणका रूपमा रहेको लिङ्गो जुधाउने प्रतिस्पर्धामा गैरी गाउँ, कान्छी गाउँ, माझी गाउँ र डाँडागाउँ गरी चार टोल रहे पनि हरेक वर्ष गैरी गाउँ र कान्छी गाउँले मात्रै सहभागिता जनाउने गरेका छन् । कुनैबर्ष दुबै गाउँबाट लिंगोहरु जुधाउँदा बराबरी समेत हुने गरेको छ ।
पुख्र्यौली नाच, साइलो भाका र पञ्चेबाजासहितको उत्सवका बीच मंगलबार बिहान भूमे देवताको विधिपूर्वक भूमे पूजा गरेपछि दिउँसो मध्यान्हको समयमा दुई गाउँबाट छुट्टाछुट्टै रूपमा ध्वजापताकाले सजाइएका अग्ला बाँसका लिङ्गो बोकेर स्थानीयवासी गाउँको शिरमा रहेको मुल्का डाँडामा पुगेका थिए । त्यहाँ एकैसाथ लिङ्गो ठड्याएर प्रतिस्पर्धा गरिएको एकता युवा क्लबका अध्यक्ष मनोज तिलिजाले बताउनुभयो । “परापूर्वकालदेखि मानिँदै आएको प्रकृति पूजक भूमे पूजालाई संरक्षण र प्रवद्र्धन गर्दै पुस्तान्तरण गर्नु मुख्य लक्ष्य हो,” उहाँले भन्नुभयो । उहाँका अनुसार भूमे पूजाको दोस्रो दिन पुख्र्यौली नृत्य, तेस्रो दिन सांस्कृतिक कार्यक्रम तथा त्यसपछि विविध खेलकुद कार्यक्रम सञ्चालन गरिनेछ ।

भूमे पुजामा लिङ्गो जुधाई हेर्न देश तथा विदेशमा छरिएर रहेका दग्नामबासीहरु गृहगाउँ फर्कने गर्छन भने छिमेकी गाउँबाट समेत उल्लेख्य मात्रामा श्रद्धालु भक्तजन तथा आन्तरिक पर्यटक मेला भर्न पुग्ने गर्छन । लिङ्गो जुधाउने प्रतियोगितालाई खुसीयाली, भावनात्मक प्रतिस्पर्धा र एकताको प्रतीकका रूपमा लिने गरिएको जनता माविका प्रधानाध्यापक गुन पुनले बताउनुभयो । उहाँका अनुसार भुमे पुजाको अवसरमा स्थानियले एकै दिन सामे भुमे, सिद्ध भुमे, देवि देउराली, भारा र खोला मण्डली लगायत पाँच देवताको पुजाआजा गर्ने गर्दछन् । खासगरी खेतीबाली राम्रो होस, बाढि, पहिरो, भु–क्षय जस्ता प्राकृतिक प्रकोपको सृजना नहोस, स्थानीयवासीको मनोकामना पूरा होस् भन्ने कामना सहित भूमे देवताको पुजा गरिन्छ ।

भूमेथानमा मौलिक संस्कृतिअनुसार पूजा सम्पन्न गरेपछि लोपोन्मुख अवस्थामा रहेको पुख्र्यौली सेदो गीतमार्फत पाँच देवतालाई बखान गर्दै थान परिसरमा नाचगान गर्ने चलन रहेको छ । गाउँ फर्कने क्रममा स्थानीय एकता युवा क्लबले ज्येष्ठ नागरिक, समाजसेवी, जनप्रतिनिधि तथा अगुवालाई काँधमा बोकेर सम्मानसहित गाउँ पु¥याउने परम्परा पनि कायम छ ।
पछिल्लो समय आधुनिकताको प्रभाव बढ्दै गए पनि परम्परागत संस्कृतिको संरक्षणमा युवापुस्ताको सहभागिता उत्साहजनक देखिएको छ । उनीहरूले यस्ता मौलिक संस्कृतिलाई आगामी पुस्तासम्म जोगाइराख्न सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन् ।
























