आर्थिक म्याग्दी राजनिति

कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलद्वारा तातोपानी कुण्डमा स्नान (फोटोफिचर)

प्रताप बानियाँ
म्याग्दी, शनिबार फागुन २५ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार म्याग्दीको प्रसिद्ध प्राकृतिक उपचार केन्द्रको रुपमा परिचित तातोपानी कुण्डमा स्नान गर्नुभएको छ । नेपाली कांग्रेस म्याग्दीको बिपी स्मृति भवन (पार्टी कार्यालय)को उद्घाटन र बेनीमा आयोजित आमसभालाई सम्बोधन गर्न बेनी आएको अवसरमा उहाँहरु प्रसिद्ध तातोपानी कुण्ड पुग्नुभएको हो ।

हेलिकप्टरमार्फत म्याग्दी आउनुभएका नेताद्वय देउवा र पौडेल स्थानीय नेता तथा कार्यकर्तासहित तातोपानी कुण्डमा पुग्नुभएको थियो । कुण्डमा उहाँहरुले कांग्रेस म्याग्दीका जिल्लास्तरका नेताहरुसँगै स्नान गर्नुभयो । कांग्रेस सभापति देउवा एकैछिन मात्रै तातोपानी कुण्डमा डुबेर निस्कनुभयो भने वरिष्ठ नेता पौडेल भने केहीबेर कुण्डमा डुब्नुभयो । कुण्डमा स्नान गरेर निस्कने क्रममा पत्रकारसँग कुराकानी गर्दै सभापति देउवाले तातोपानी कुण्डमा डुब्दा आफूलाई आनन्दको महशुस भएको बताउनुभयो । उहाँले तातोपानी कुण्डको प्रचारप्रसार गर्नुपर्ने भन्दै कुण्डको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी वरिष्ठ नेता पौडेलले तातोपानी कुण्डमा डुब्दा आफूलाई स्वर्गको अनुभूति भएको बताउँदै आफूले आनन्दको महशुस गरेको प्रतिक्रिया दिनुभयो । उहाँले नेपालको विभिन्न स्थानमा तातोपानीका कुण्ड र मुहानहरु रहेको हुँदा धार्मिक रुपले पनि तातोपानीको महिमा रहेको बताउँदै यसले मानिसलाई पवित्रता कायम गर्ने बताउनुभयो । वरिष्ठ नेता पौडेलले समृद्ध नेपाल निर्माणका लागि खनिज पदार्थको उत्खनन्, कृषिको क्रान्ति र पर्यटनको विकास समृद्धिको आधार भएको बताउनुभएको छ ।

तातोपानी कुण्ड स्नान गर्नुपूर्व नेताद्वयले कुण्ड परिसरको अवलोकन समेत गर्नुभएको थियो । तातोपानी कुण्ड व्यवस्थापन समितिले नेताद्वयलाई कुण्डमा स्वागत गरेका थिए । उहाँहरुलाई कुण्ड र तातोपानी क्षेत्रको बारेमा जानकारी गराउँदै कुण्ड व्यवस्थापन समितिका पदाधिकारीहरुले बेनीदेखि तातोपानीसम्म पुग्ने सडकको स्तरोन्नति गर्नुपर्ने, कुण्डको व्यवस्थापन र पूर्वाधार निर्माणका लागि सम्बन्धित निकायमा पहल गरिदिन आग्रह गरेका छन् ।

तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले कुण्डको वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै तातोपानी कुण्डबाट प्राप्त आम्दानी तातोपानीको सरस्वती माध्यमिक विद्यालयका ११ जना शिक्षक कर्मचारीको तलब÷भत्ता व्यवस्थापनमा सहयोग गर्ने गरिएको बताउनुभयो । विद्यालयलाई सरकारी दरबन्दीको व्यवस्था भएमा कुण्डको आम्दानी कुण्ड व्यवस्थापनमा नै परिचालन गर्न सकिने उहाँको भनाइ छ ।

कुण्डको तर्फदेखि नेताद्वयलाई मायाको चिनो प्रदान गरिएको थियो । यसअघि गएको कात्तिक अन्तिम साता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र गृहमन्त्री रामबहादुर थापा आफ्नो परिवारसहित म्याग्दी आएर तीन दिनसम्म तातोपानी कुण्डमा स्नान गर्नुभएको थियो । उहाँहरुको स्नानसँगै देश विदेशमा अहिले तातोपानी कुण्डको विषयमा व्यापक रुपमा प्रचारप्रसार भैरहेको छ । पछिल्लो समय म्याग्दीको तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा विकसित हुँदै गैरहेको छ । यसपटक कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलले गरेको तातोपानी कुण्डको स्नानलाई पनि जिल्लामा निकै महत्वका साथ हेरिएको छ ।

सम्बन्धित समाचार

thumbnail

कलेजो रोगी दर्जीलाई समाजसेवी गौचनद्धारा आर्थिक सहयोग,उपचारमा सहयोग गर्न अपिल

बेनी । कलेजो रोगबाट पीडित धवलागिरी गाउँपलिका–७ की अनिता दर्जीलाई नेपाली कांग्रेस, म्याग्दीकी नेतृ तथा समाजसेवी विमला गौचनले आर्थिक सहयोग गर्नुभएको छ । लामो समयदेखी कलेजो रोगबाट पीडित दर्जीलाईको आर्थिक अवस्था कमजोर…

thumbnail

कोरोनाका कारण नेपालमा २२ प्रतिशतले गुमाए रोजगारी

काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा २२.५ प्रतिशतले रोजगारी गुमाएका छन्। नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार सरकारले चैत्र ११ गते लकडाउन घोषणा गरेसँगै रोजगारी गुमाउने क्रम सुरु भएको हो।केन्द्रीय तथ्यांक विभागका अनुसार नौ…

thumbnail

बाढी पहिरो पीडितका लागि प्रवासबाट साढे ३ लाख रुपैयाँ बढी सहयोग

बेनी । प्रवासमा रहेका दग्नाम–दर्मिजा लगायत म्याग्दीलीहरुले जिल्लाका बाढी पहिरो पीडितका लागि साढे तीन लाख रुपैयाँ बढी सहयोग आर्थिक सहयोग गरेका छन् । दग्नाम–दर्मिजा समाज गलेश्वर– बेनीका सचिव धनिलाल गर्बुजाको नेतृत्वमा म्याग्दीका…