म्याग्दीमा ट्राफिक सप्ताह सुरु (तस्बिर/भिडिओ)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीमा सचेतनामुलक कार्यक्रम गरेर ट्राफिक सप्ताह–२०८१ मनाउन सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको आयोजनामा मंगलवारदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको पालनालाई प्रभाबकारी बनाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

वैशाख ३१ गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेर मनाउन सुरु गरिएको ट्राफिक सप्ताहको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको छ । बेनीमा बाजागाजा, झाँकी र प्लेकार्ड सहित प्रभातफेरी ¥याली गरेर सप्ताहको सुभारम्भ गरिएको छ ।सप्ताहको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख थापाले सडकलाई सुरक्षित बनाउन र दुर्घटना न्यूनीकरण गर्न सवारी चालक, पैदलयात्री र सरोकारवालाहरु सबै सचेत बन्नुपर्ने बताउनुभयो । उहाँले ट्राफिक प्रहरीले मात्रै दुर्घटना न्यूनिकरण गर्न नसक्ने भएकाले सप्ताहव्यापी रुपमा मनाईने ट्राफिक सचेतनामुलक कार्यक्रमले दुर्घटना न्यूनिकरणमा सघाउने विश्वास व्यक्त गर्नुभयो ।

भिडिओ हेर्नुहाेस्…

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक भरत श्रेष्ठले सवारी चालक, पैदलयात्री र यात्रु समेतले सडक नियमको पालना गर्न सकेमा मात्रै दुर्घटना न्यूनिकरण हुनेमा जोड दिनुभयो । दिवसको अवसरमा जिल्लामा सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको बारेमा व्यापक जनचेतना जगाउने गरि कार्यक्रम तय गरिएको छ । मंगलवार गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकै साथ ट्राफिक सप्ताहलाई सुभारम्भ गरिएको छ ।

सप्ताहलाई यात्रु, चालक, र प्रहरीबिचको सम्वन्धलाई नजिक बनाउने, सडक यात्रालाई सुरक्षित बनाउने र दुर्घटना न्यूनिकरणमा केन्द्रित गरिएकोे जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी बरिष्ठ नायब निरिक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।ट्राफिक सप्ताह अन्तरगत लामो दुरीका सवारी साधनमा दुई जना चालक राख्ने नियमको कार्यान्वयनको अनुगमन गर्ने, सवारी साधनमा सचेतनामूलक स्टिगर टाँस गर्ने, सर्वसाधारण र सरोकारवालाहरुलाई ट्राफिक सचेतना फैलाउने, पर्चा वितरण गर्ने, माइकिङ गर्ने, सवारी साधनको भाडा अनुगमन गर्ने, यात्रु आरक्षण सिटको कार्यान्वयनबारे अनुगमन गर्ने, सडक प्रयोग सम्वन्धी चालक, यात्रु र सर्वसाधारणलाई प्रशिक्षण गर्ने कार्यक्रम तय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरि उक्त अवसरमा प्रहरी संगसंगै विभिन्न संघ संस्था र विद्यालयबाट स्वंमसेवक परिचालन गरेर ट्राफिक सचेतना अभिवृद्धि गर्ने, शहरी क्षेत्रमा पार्किङ व्यवस्थापनमा सहजीकरण गर्ने, लघु सचेतना कार्यक्रम गरेर यात्रु , चालक र सर्वसाधारणलाई ट्राफिक नियमको बारेमा जानकारी गराउने, चालकको निःशूल्क स्वास्थ्य परिक्षण गर्ने, सञ्चारकर्मी र सरोकारवालासंग अन्तरक्रिया संगै रक्तदान र दिप प्रज्वलन लगायतका कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो ।उद्घाटन समारोहमा म्याग्दी यातायात प्रा.लिका अध्यक्ष लालबहादुर थापाले मन्तव्य राख्नुभएको थियो भने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कुमार गुरुङले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार