म्याग्दीका सामुदायिक विद्यालयलाई ल्यापटप हस्तान्तरण

प्रताप बानियाँ / म्याग्दी, शनिबार जेठ २५ गते । महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले शुक्रबार प्रकाश माध्यमिक विद्यालयलाई ल्यापटप हस्तान्तरण गरेकी छिन् । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माविको पूर्व विद्यार्थी समेत रहेकी मन्त्री थापाले आफ्नो पहलमा दक्षिण कोरियाको उम हङगिल हुम्यान फाउण्डेशनको सहयोगमा उपलब्ध ४ थान ल्यापटप हस्तान्तरण गरेकी हुन् ।

उक्त ल्यापटप मन्त्री थापाले विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष हरिकृष्ण श्रेष्ठ र प्रधानाध्यापक हरिकृष्ण सुवेदीलाई प्रदान गरेकी थिइन् । ल्यापटप हस्तान्तरण गर्दै मन्त्री थापाले सङ्घीयताको मर्म र भावना अनुसार अबको शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता रहेको बताइन् । सरकारले चालु वर्षमा भन्दा आगामी वर्षमा शिक्षा क्षेत्रलाई जोड दिएर दोब्बर बजेटको व्यवस्था गरेको बताउँदै उनले विद्यार्थीहरुलाई प्राविधिक, व्यावसायिक र गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिइन् ।

सूचना प्रविधिमा थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले कक्षाकोठामा प्रविधियुक्त शिक्षा प्रदान गर्नका लागि शिक्षकहरुलाई लक्षित गरेर विद्यालयमा ल्यापटप सहयोग उपलब्ध गराइएको मन्त्री थापाको भनाइ छ ।

यसैगरी शुक्रबार म्याग्दी सामुदायिक पुस्तकालयलाई पनि एक थान ल्यापटप सहयोग गरिएको छ । यसअघि बिहीबार फाउण्डेशनमार्फत महादेव मावि वेगलाई ४ थान, अमर मावि चिमखोलालाई ३ थान, मुक्तिधाम मावि भगवतीलाई ४ थान, ज्ञानोदय मावि मौवाफाँट र रघुगगां मावि पिप्लेलाई २÷२ थान ल्यापटप उपलब्ध गराइएको थियो ।

विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, प्रअ हरिकृष्ण सुवेदीको स्वागत र सहायक प्रअ लेखबहादुर हमालको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार