नवआगन्तुक प्रजिअलाई उवासंघले ग¥यो स्वागत

म्याग्दी,शनिबार साउन १८ गते । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई शनिबार म्याग्दी उद्योग वाणिज्य संघले स्वागत गरेको छ । हालै मात्र म्याग्दीको प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी लिएर आएका उनलाई उद्योग वाणिज्य संघले स्वागत तथा परिचय गरेको हो ।

नवआगन्तुक प्रजिअ ढकाललाई म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, निवर्तमान अध्यक्ष जीवनबहादुर विश्वकर्मा, पूर्व अध्यक्षद्वय प्रमोद श्रेष्ठ, सुदर्शनकुमार श्रेष्ठ लगायतले अबिर र खादा लगाएर स्वागत गरेका थिए । स्वागतपछि बोल्दै प्रजिअ ढकालले आफू प्रमुख जिल्ला अधिकारीका रुपमा पहिलोपटक जिल्लामा आएको हुँदा प्रभावकारी रुपमा शान्तिसुरक्षाको प्रत्याभूति गराउने बताए ।

उनले आम जिल्लावासीको जिउधनको सुरक्षाका साथै समाजमा अमनचयन कायम गराउने आफ्नो मुख्य जिम्मेवारी रहने बताउँदै निर्धक्क भएर कानुनको परिपालना गरी व्यापार व्यवसाय प्रवद्र्धन गर्न उद्योगी व्यापारीलाई आग्रह गरेका छन् । प्रजिअ ढकालले कानुन विपरीत जाने व्यापारीलाई न्यायको कठघरामा उभ्याउँने भन्दै जिल्लामा विभिन्न खालका अभियानहरु सञ्चालन गर्ने बताए । निजी क्षेत्रसहित सरोकारवाला सबैको सहयोग लिएर शान्तिसुरक्षा, सरसफाई, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक पहलका साथै अभियान चलाइने उनको भनाइ छ ।

नवआगन्तुक प्रजिअलाई स्वागत गर्दै म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रमोद श्रेष्ठले ३३ केभीए कालीगण्डकी प्रसारण लाइनको मुआब्जा समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले सडक निर्माणमा हुने ढिलाइको समाधानका लागि आवश्यक पहल गर्न अनुरोध गर्दै विपद् व्यवस्थापन गर्नुपर्ने र यसका लागि सरकारलाई निजी क्षेत्रले सहयोग गर्ने बताए ।

म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जीवनबहादुर विश्वकर्माले म्याग्दी पर्यटकीय हिसाबले अत्यन्तै सम्भावनायुक्त जिल्ला भएकाले पर्यटनमैत्री वातावरण निर्माणमा आवश्यक भूमिका खेल्नुपर्नेमा जोड दिए ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले जिल्लाको भौगोलिकसहित समग्र वस्तुस्थिति र अवस्थाबारे जानकारी गराउँदै संघको पहलमा म्याग्दी भ्रमण वर्ष मनाउनुका साथै कालीपुल बसपार्कमा पर्यटकलाई लक्षित गरेर पर्यटक सूचना केन्द्रको स्थापना गरिएको जानकारी दिए ।

उवासंघ अध्यक्ष कर्माचार्यको अध्यक्षता र स्वागत तथा महासचिव लिलाराम गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रमको वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले धन्यवादसहित समापन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार