मोना न्युजील्याडको नयाँ कार्यसमिति,अध्यक्षमा कार्की

म्याग्दी ,शनिबार भदौ ७ गते ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) न्युजिल्याण्डको दिनेश कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । मोना न्युजिल्याडको शुक्रबार भएको बैठकबाट गठन भएको कार्यसमितिको उपाध्यक्षहरुमा भरत घर्ती, बेल पुन श्रेष्ठ र सन्तोष थापा चयन हुनुभएको छ ।

सचिवमा हरि सापकोटा, कोषाध्यक्षमा सुमन कार्की, सहकोषाध्यक्षमा सत्यजंग थापा रहनुभएको छ । सदस्यहरुमा कुमार के.सी, ध्रुब थापा, अनिष पौडेल र देव थापा रहनुभएको छ । यो कार्यसमितिको कार्यकाल २०२१ सम्म रहने जनाइएको छ ।

मोना आइसीका अध्यक्ष चक्रबहादुर थापा, एनआरएनए न्युजील्याडका अध्यक्ष लालबहादुर केसी, पुर्व अध्यक्ष टिकाजंग थापा, मोनाका सहकोषाध्यक्ष लोकनाथ पौडेलको उपस्थितीमा बैठक सम्पन्न भएको थियो ।

मोनाका अध्यक्ष थापाले विश्वभर छरिएर रहेका म्याग्देलीहरुलाई एकतावद्ध गरि उनिहरुलाई समस्या पर्दा सहयोग गर्नेे, जिल्लाको विकास, शैक्षिक, सामाजिक क्षेत्रमा सहयोग तथा लगानी भित्र्याउन मोनाले महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।

आगामी असोज १४ देखि १६ गतेसम्म म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा आयोजना गरिएको मोनाको तेस्रो महाधिवेशनको तयारीका क्रममा विभिन्न देशमा साधारणसभा र अधिवेशन भइरहेका छन् ।

रोजगारी, पेशा, व्यवसाय र अध्ययनको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरुको साझा संस्थाको रुपमा मोना रहेको छ । १९ देशमा मोनाको राष्ट्रिय र दुई वटा देशमा क्षेत्रीय समिति छन् ।

घोडेपानीमा मोनाको महाधिवेशनका लागि व्यवस्थापकीय तयारी सुरु गरिएको वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो । घोडेपानीका होटल ब्यवसायी र समुदायसँग छलफल गरेर भौतिक पूर्वाधार, आवास ब्यवस्थापन लगायत तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

मोनाको सम्मेलन हुन लागेकोमा घोडेपानीबासी उत्साहीत भएका टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजा पुनले बताउनुभयो । घोडेपानी र पुनहिलको पर्यटन विकास तथा प्रचारप्रसारमा पनि महाधिवेशन सहयोगी बन्ने उहाँको अपेक्षा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार