गुफाको प्रचारप्रसार गर्न भीरको टुप्पोमा गाउँपालिकाको बैठक

भोजपुर ,आइतबार फागुन ११ गते। अरुण गाउँपालिका १ याङपाङको दाउनेको शिवरात्री गुफाको प्रचारप्रसार गर्न गाउँपालिकाले भीरको सिरानमै गाउँपालिकाले बैठक सम्पन्न गरेको छ।

अरुण गाउँपालिका १ याङपाङको दाउनेस्थित शिवरात्री भीरको टुप्पोमा बसेको कार्यपालिकाको बैठक ।

गाउँपालिका जनप्रतिनिधि,कर्मचारी र सरोकारवाला सर्वसाधरणको भेलाले गुफाको प्रचारप्रसारमा विशेष जोड दिएको छ। गुफाको प्रचार गर्न गाउँपालिकाले ९१ औं कार्यपालिकाको बैठक चलाएको थियो।

धार्मिक महत्व बोक्ने गुफाको प्रबद्र्धन गर्न गाउँपालिकाले बैठक चलाएको थियो । पर्यटकीय सम्भावना बोकेको गुफाको प्रचार गर्ने उद्देश्यले गुफाको भीरमै गाउँपालिकाले बैठक चलाएको गाउँपालिका याङपाङका वडाध्यक्ष नगेन्द्र खत्रीले बताए ।

भीरको टुप्पामा बसेको ऐतिहासिक बैठकले गाउँपालिका क्षेत्रभित्रका पर्यटकीय गन्तव्यको प्रबद्र्धन गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्य लिएको उनले बताए ।  धार्मिक पर्यटनबाट अर्थतन्त्र सुधार्दै स्थानीयबासीलाई आयमूलक बनाउने उद्देश्यले गुफा सम्बद्र्धनमा गाउँपालिका जुटेको गाउँपालिका प्रमुख गजेन्द्रबहादुर कार्कीले बताए । उनले भने, ‘गुफाको प्रबद्र्धन गर्न हामी योजनासहित अघि बढेका छौँ, गुफाको भौतिक संरचना निर्माण गरेर बाह्य पर्यटनसम्म भित्राउने हाम्रो लक्ष्य छ।’ 

गुफाको पूर्वाधार निर्माण गर्न सकिए पर्यटक भित्राउन सकिने स्थानीय अमर मगर बताउँछन् । उनले भने, ‘गुफाको प्रबद्र्धन हुनसके अझै बाह्य पर्यटक गुफाको दर्शन गर्न आउने थिए।’

गुफाको दर्शन गरी भाकल गरे मनोकांक्षा पूरा हुने विश्वास छ । विशेषगरी शिवरात्रीमा भगवान शिवको व्रत बस्दा पुण्य प्राप्त हुने भएकाले धार्मिक तिर्थालुको घुँइचो लाग्न गरेको पुजारी सोमनाथ शर्माले बताए । ‘मनोकांक्षा पुरा गर्ने मनसायले जिल्ला बाहिरबाट हिन्दु धर्मालम्बी आउने गरेका छन्,’ पुजारी शर्माले भने ।

शिवरात्री गुफालगायत जिल्लाभित्रका सिद्धकाली, टक्सार, पशुपती , पातले गुफा, दाउने गुफा स्थानमा भक्तजन विशेष जमघट हुने गर्छ । ऐतिहासिक धार्मिक महत्व बोकेको गुफामा परापूर्वकालमा ३ साधुले ४ महिना ध्यान गरेको स्थान भएकाले शिवरात्रीमा ठूलो मेला लाग्ने गरेको किम्बदन्ती छ ।

गुफाभित्र भगवान शिवको मूर्ति, ७ वटा विभिन्न देवीदेवतीको मूर्ति, तबला, मादल, गाईका थुन, गैंडाको बच्चा, गोमन साँप, बजाइने शंख आकृतिका ढुङ्गा छन्।
अन्नपूर्ण पोस्ट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार