अज्ञात समुहद्वारा रातोढुङ्गामा डोजरमा आगजनी

बेनी, सोमबार चैत्र ०३ गते । म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा सोमबार बिहान डोजर (एक्साभेटर र ब्याकुहोलोडर) मा आगजनी भएको छ ।

क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजना अन्तरगत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिका लागि प्रयोग गरेको एक वटा एक्साभेटर र एक वटा ब्याकुहोलोडरमा अज्ञात समूहले आगजनी गरेका हुन् ।

आगजनीबाट ब्याकुहोलाडरको सबै भाग जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय दरवाङले जनाएको छ । कार्यालयका प्रहरी निरिक्षक रामचन्द्र अधिकारीले एक्साभेटरमा लगाएको आगो आधा भाग जलेपछि नियन्त्रणमा लिएको बताउनुभयो ।

राती १२ बजेपछि आगोलागी भएको खबर पाएलगत्तै प्रहरी, जनप्रतिनिधि र निर्माण कम्पनीका प्रतिनिधि घटनास्थलमा पुगेर आगो निभाएका थिए । आगजनी कसले के कारणले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी निरिक्षक अधिकारीले बताउनुभयो ।

सडकको नजिकै पार्कीङ गरेका निर्माण उपकरण आगजनी भएको क्याराभान कन्ट्रक्सनका सञ्चालक सोमनाथ थकालीले बताउनुभयो । उहाँले सुरक्षाको माग गर्नुभयो । थकालीका अनुसार आगजनीबाट रु. एक करोड भन्दा बढीको क्षति भएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत लाम्पाटा देखि दरवाङ जोड्ने ६ किलोमिटर सडक कालोपत्रे गर्न क्याराभान कन्ट्रक्सनले गत जेठमा ठेक्का लिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार