वडा अध्यक्षको घरबाट गोली बरामद

बेनी ,आइतबार चैत ३० गते । जिल्लाको रघुगंगा गाउपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाको घरबाट गोली बरामद गरिएको छ । पाखापानीको कोटगाउ स्थित शेरपुजाको घरबाट एक राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

शेरपुजाले सामाजिक सञ्जाल फेसबुकमा शनिबार आफूसंग बुलेट भएको स्टाटस राखेपछि अनुसन्धान गर्न गएको प्रहरीले छापा मार्दा गोली भेटिएको प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरले जानकारी दिनुभयो । कुन प्रकृतीको गोली ,कुन स्रोतबाट आएको हो भन्ने विषयमा अनुसन्धान थालिएको प्रनाउ कुबले बताउनुभयो ।

स्थानीय जनप्रतिनिधि र अगुवाहरुको रोहबरमा बिहान घरमा खानतलासी गरिएको थियो । अध्यक्ष शेरपुजाले सामाजिक सञ्जाल फेसबुक मार्फत “नेकपा गापा अध्यक्ष दिपक कार्की बिखर्ची मित्रले झै सामाजिक सञ्जालमा आगो बाल्नु छ । कसैले हिम्मत बोकी निभाउछु भनेर आउँछ भने एउटा मात्र बुलेट छ त्यही उपहार दिएर पठाउछु” भन्ने स्टाटस लेख्नुभएको थियो । प्रनाउ कुँवरका अनुसार गोली कुन प्रकृतिको हो भन्ने विषयमा परिक्षणका लागि प्रयोगशालामा पठाइनेछ ।

शेरपुजाले सामाजिक सञ्जालमा अभिव्यक्त गरेपछि प्रहरी टोली अनुसन्धानका लागि कोटगाउ गएको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार उनिसंग हतियार राख्ने अनुमति भए नभएको विषयमा अनुसन्धान जारी छ ।अबैध हात हतियार वा गोलगठ्ठा राखेको कसुर पुष्टि भएमा हात हतियार तथा खरखजना सम्बन्धी मुद्दा चलाइनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार