दुर्घटना कम गर्न ‘डमी’ ट्राफिक

काठमाडौँ । कोरोना महामारीका कारण सडकमा खटिने ट्राफिक प्रहरी क्वारेन्टिनमा र आइसोलेसनमा बस्नुपर्दा दैनिक कार्यमा जनशक्ति अभाव भइरहेको छ। यस्तो अवस्थामा सर्वसाधारणलाई ट्राफिक नियमको पालना गराउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ उपाय कार्यान्वयनमा ल्याएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका साथै दुर्घटना न्यूनीकरण गर्न उपत्यकाका सडकमा ट्राफिक प्रहरी जस्तै देखिने २२ वटा ‘डमी’ बनाएर राखिएको छ।

डमी प्रहरीमा प्रत्येक पाँचरपाँच दिनको फरकमा विभिन्न सचेतना मुलक सन्देश राख्ने गरिन्छ। यसले उपत्यकामा हुने दुर्घटनालाई कम गर्नुका साथै सचेतनामा समेत अभिवृद्धि गर्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भिमप्रसाद ढकालले बताए।

काठमाडौं महानगरपालिकाको सहकार्यमा ट्राफिक डमी राखिएको महाशाखाले जनाएको छ। सिंहदरबार, माइतीघर, नयाँ बानेश्वर चोक, बालुवाटार, एकेडेमी मोड, लैनचौर, भोटाहिटी, रणोद्विप, भद्रकाली, थापाथली, कालिमाटी, कलंकी, जडिबुटी, कोटेश्वर चोक, गौशाला, पुरानो बानेश्वर, ल्होत्से चोक, कृष्ण पाउरोटी, पद्मोदय मोड, नागढुंगा र जगातीमा ‘डमी’ प्रहरी राखिएको एसएसपी ढकालले जनाए।

महाशाखाका प्रमुख ढकालका अनुसार अहिले जोर बिजोर प्रणालीमा सवारी साधन गुडिरहेको छन्। यात्रुलाई दुर्घटनाबाट बचाउन ट्राफिक व्यवस्थापन गरेर ड्युटीमा खटिएका ट्राफिक संक्रमणबाट जोगिएर नागरिकलाई सन्देश प्रवाह गर्ने काम भइरहेको उनले बताए। सडकमा डमी ट्राफिक राखिँदा लापरबाही गरेर सवारी चलाउनु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव पर्ने उनको भनाइ छ।

सडक शिक्षा कार्यक्रम अन्तर्गत सडक दुर्घटना कम गर्नका लागि महाशाखाले काठमाडौं उपत्यकाका ‘डमी’ को हातमा ट्राफिक सचेतना सम्बन्धी विभिन्न सन्देश लेखिएका बोर्ड पनि देख्न सकिन्छ। टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गती कम गर्ने सघाउनुका साथै ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने एसएसपी ढकालको दाबी छ।nagariknews.nagariknetwork.comबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार