विद्युत् आयोजनाका मजदूरले ६ महिनासम्म पनि पाएनन् ज्याला

रुकुमपूर्व । रुकुम(पूर्व)को सिस्ने गाउँपालिका –८ स्थित एक विद्युत् आयोजनामा काम गरेका मजदूरले ६ महिनासम्म पनि ज्याला पाएका छैनन् । जामाखोलामा रहेको निर्माणाधीन जामाखोला लघु जलविद्युत् आयोजनामा काम गरेको आधा वर्ष बितिसक्दा पनि तिनले ज्याला नपाएका हुन् । सिस्ने –८ की चन्द्रकला परियारले उक्त विद्युत आयोजनामा १८ दिन काम गरिन् । अहिलेसम्म ज्याला रकम रु नौ हजार नपाएको उनले दुःखेसो पोखिन् । यस्तै सोही ठाउँकै झुपलाल घर्ती, कुँवेर घर्ती, नौली पुनलगायतको पीडा पनि चन्द्रकलाको भन्दा केही फरक छैन । उनीहरु भन्छन्, “मामको जोहो गर्न काम गरियो, त्यही कामको दाम पाइएन ।” दैनिक गुजारा चलाउन भनी विद्युत् आयोजनाको विद्युत‍्गृहमा जाने बाटो निर्माणको कामको ज्याला नपाउँदा उनीहरु मर्कामा परेका छन् ।

विद्युत आयोजना निर्माण समितिका सचिव विष्णु सार्कीले भने लागत अनुमानअनुसार मजदूरलाई काममा लगाए पनि भुक्तानी कम भएकाले काम गरेको ज्याला दिन नसकिएको बताए । सचिव सार्कीका अनुसार पहिले जिल्ला समन्वय समिति रुकुम९पूर्व०ले रु १७ लाख र सिस्ने गाउँपालिकाले रु ४० लाख गरी जम्मा रु ५७ लाख विद्युत् आयोजनाका लागि उपलब्ध गराउने भनिएको थियो । समितिले पनि त्यसैअनुसार लागत अनुमान तयार गरेको थियो तर पछि जिससबाट भुक्तानी नभएको र गाउँपालिकावाट पनि विद्युत‍्गृह निर्माणका लागि तयार पारिएको ठाउँमा पहिरो झरेपछि रु २१ लाख एक हजार मात्र भुक्तानी दिएकाले मजदूरलाई ज्याला दिन नसकिएको सचिव सार्कीले जानकारी गराए ।

जिससका प्रमुख गजेन्द्रबहादुर ओलीले भने समितिलाई रकम उपलब्ध गराउने विषयमा आफुहरुसँग कुनै सम्झौता नभएको बताए । त्यस विषयमा आफूलाई कुनै जानकारीसमेत नभएको उनको भनाइ छ । विसं २०७२ असारमा काम सम्पन्न भइसकेको आयोजनाले सिस्ने ७ र ८ का साथै रुकुम९पश्चिम०को मुसिकोट नगरपालिका १ छिङका नागारिकलाई उज्यालो दिएको थियो । पहिले गाविस हुने बेलामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रु दुई करोड १३ लाख बजेटमा उक्त विद्युत् आयोजनाको काम सम्पन्न भएको थियो । त्यसमा ३० प्रतिशत जनश्रमदान रहेको गाउँपालिका उपाध्यक्ष गोवर्द्धन बुढाले बताए । यस्तै सिस्ने गाउँपालिकाले पनि तार खम्बा विस्तारका लागि रु १२ लाख विनियोजन गरेको थियो ।

गाउँमा बिजुली बलेको केही वर्षपछि अर्थात् २०७५ असोजमा विद्युत् उत्पादनगृहमाथिबाट खसेको पहिराले पुरिएपछि विद्युत् सेवा अवरुद्ध हुन पुगेको छ । विद्युत् अझै सञ्चालन हुन सकेको छैन । यसले गर्दा तीन वडाका करिब नौ सय घरधुरी मारमा छन् । उक्त विद्युत् आयोजनाको अहिले सिस्ने गाउँपालिकाले मर्मत गरेको छ । मर्मतको काम अन्तिम चरणमा पुगे पनि कोरोना महामारीकै कारण प्राविधिकलाई जिल्लामा भित्र्याउन नसक्दा विद्युत् सञ्चालन गर्न नसकिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् ।

सिस्नेले संसद् विकास कोषको रु ५० लाख र अन्य रु ५९ लाख गरी कुल रु एक करोड नौ लाखमा विद्युत् आयोजना मर्मंत गरेको अध्यक्ष बरालले बताइन् । यस्तै विद्युत् आयोजना निर्माणको जिम्मा लिएको उपभोक्ता समितिले पाँच वर्षसम्म पनि सार्वजनिक लेखा परीक्षण गरेको छैन । रासस/नागरिक खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार