दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौपानेको निधन भएको छ। ६५ वर्षीय न्यौपानेको शुक्रबार बिहान साढे ९ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।
‘अलिअलि रुघाखोकी र ज्वरो आएको हुँदा निमोनिया भएको हो कि, भनेर अस्पताल लैजान गाडीमा ल्याउँदै थियौं,’ छोरा पोषण न्यौपानेले भने, ‘अस्पताल पुर्याउन साथ चिकित्सकले उहाँलाई मृत घोषणा गरिदिए।’छोरा न्यौपानेका अनुसार उनका बुवालाई विगत ३/४ दिन यतादेखि सामान्य खोकी लागे पनि ज्वरो भने आएको थिएन।
‘अलि विसञ्चो भएपछि हामीले तुलसीपुरको सिटी हस्पिटलमा लगेर सामान्य उपचारपछि घरमै लगेका थियौं,’ छोरा पोषणले भने, ‘ त्यसभन्दा अघि उहाँमा कुनै पनि स्वास्थ्य समस्या थिएन।’ स्थानीय निर्वाचनमा न्यौपाने नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। वडाध्यक्ष न्यौपानेको शव अहिले राप्ती प्रादेशिक अस्पतालमै राखिएको छ। सेतोपाटीबाट साभार