अमेरिकाका २५ वर्षीय युवक दोस्रो पटक कोरोना संक्रमित

काठमाडौं । अमेरिकामा एक युवक दुई पटक कोरोनाभाइरसबाट संक्रमित बनेका छन् । दोस्रो पटक संक्रमित हुँदा उनको अवस्था पहिलो पटकभन्दा बढी गम्भीर भएको डाक्टरहरुले बताएका छन् । दोस्रो पटक संक्रमित हुँदा २५ वर्षीय युवकको फोक्सोमा अक्सिजनको मात्रा नपुगेपछि उनलाई अस्पतालनै भर्ना गर्नुपरेको थियो । तर अहिले ती युवक संक्रमणमुक्त भइसकेका छन् । पुनः संक्रमणको केसहरु निकै दुर्लभ रहेका छन् ।

लान्सेट इन्फेक्सियस डिजिजको अध्ययनले संक्रमण भइसकेपछि भाइरसविरुद्ध कति प्रतिरोधात्मक क्षमता निर्माण हुन्छ भन्नेमा प्रश्न खडा गरेको छ । नेभाडाका ती युवकमा यसअघि कुनै स्वास्थ्य समस्या वा प्रतिरोधी क्षमतामा समस्या देखिएको थिएन । गत २५ मार्चमा उनलाई पहिलोपटक संक्रमणको हल्का लक्षणहरु देखिएको थियो । १८ अप्रिलमा उनमा संक्रमण पुष्टि भयो भने २७ अप्रिलमा लक्षणहरु हराए । ९ र २६ मेमा परीक्षण गर्दा दुईपटक नतिजा नेगेटिभ आयो । तर, २८ मेमा पुनः लक्षणहरु देखिन थाल्यो । ५ जुनमा उनमा पुनः संक्रमण पुष्टि भयो र शरीरमा अक्सिजनको कमी देखियो ।

वैज्ञानिकहरुका अनुसार ती युवकमा पहिलो संक्रमण पुनः बल्झिएको भन्दा पनि उनी दोस्रो पटक संक्रमित बनेका हुन् । दुई भाइरसको जेनेटिक कोडलाई अध्ययन गरेर वैज्ञानिकहरुले यो निष्कर्ष निकालेका हुन् । ‘हाम्रो अध्ययनको संकेत भनेको पहिलो संक्रमणले तपाईंलाई भविष्यमा हुने संक्रमणबाट बचाउने छ भन्ने ग्यारेन्टी छैन भन्ने हो,’ नेभाडा विश्वविद्यालयका डा. मार्क पान्डोरी भन्छन् । उनका अनुसार संक्रमणमुक्त भएकाहरुले पनि समाजिक दुरीको मापदण्ड पालना गर्नुका साथै मास्क लगाउने र नियमित रुपमा हात धुने गर्नुपर्छ ।

वैज्ञानिकहरु अझै पनि कोभिड–१९ विरुद्ध प्रतिरोधी क्षमताबारे अध्ययन गरिरहेका छन् । के सबै यसबाट प्रतिरक्षित हुन सक्छन् ? कति लामो समय प्रतिरोधी क्षमता रहन्छ ? जस्ता प्रश्नको उत्तरले भाइरसको दीर्घकालिन प्रभाव, खोप र हर्ड इम्युनिटीबारे उत्तर प्राप्त हुनेछ । हालसम्म ३.७ करोड संक्रमिमध्ये केहीलाई मात्र पुनः संक्रमण देखिएको छ । हङकङ, नेदरल्याण्ड र बेल्जियममा पुनः संक्रमित भएकाहरुको अवस्था पहिलेभन्दा कम गम्भीर देखिएको थियो । इक्वेडरमा भने अमेरिका जस्तै थप गम्भीर लक्षण देखापरेको थियो । तर, उनलाई भने अस्पताल लग्न परेको थिएन ।एजेन्सी/रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार