रौतहट। रौतहटका प्रहरी प्रमुख एसपी सिद्विबिक्रम शाहलाई कोरोना भाईरस संक्रमण भएको छ । रुघाखोकीसँगै ज्वरो आउन थालेपछि पिसिआर टेस्ट गराएका उनको कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो । हाल एसपी शाह सेल्फ आईसोलेसनमा बस्नुभएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।
सुरुमा रुघाखोकी र ज्वरो देखिए पनि हाल ज्वरो ठिक भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । रौतहटमा पछिल्लो एक सातामा १ सय ८९ जनाको स्वाब परीक्षण गरिएकोमा १ सय जनामा कोभिड १९ संक्रमण पुष्टि भएको जिल्ला अस्पताल गौरले जनाएको छ । बन्दाबन्दी खुलेपछि रौतहटमा सार्वजनिक यातायात र विद्यालय पनि खुलेका छन् । बजार, कार्यालय, व्यापार पहिलेकै अवस्थामा झैं सञ्चालनमा आएका छन् तर सुरक्षाको उपाय भने शून्य छ ।
जिल्लामा स्थानीयवासीहरुले मास्क लगाउने र भौतिक दुरी तथा स्वास्थ्य सचेतनामा ध्यान दिन छाडेका छन् । बजारहरुमा बढी भिडभाड हुनु र व्यक्तिगत दुरी कायम नहुनुले कोरोनाको जोखिम झनै बढेको चिकित्सकहरु बताउँछन्। पछिल्लो समय स्थानीयसँगै जिल्लाका सुरक्षा अधिकारीहरु, जनप्रतिनिधि र कार्यालयका कर्मचारीहरु संक्रमित हुने क्रम बढेको छ ।
कोरोना भाईरसका कारण हालसम्म १३ जनाको ज्यान गैसकेको छ । महामारी नियन्त्रण गर्न जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठक बसेर नयाँ रणनिति तयार गरेर अघि बढिने सिडियो इन्द्रदेव यादवले बताए । रातोपाटीबाट साभार