१५२ किलो बँदेलको मासुसहित तीन पक्राउ

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले संरक्षित वन्यजन्तु बँदेलजस्तो देखिने काँचो मासु अवैधरूपमा ओसारपसार गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत मूलपानी चोकबाट आज प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । कर्णाली प्रदेश ०२००१ ख ०२६२ नम्बरको सेतो रङ्गको फोर्स गाडीमा जाँच गर्दा पाँच बोरा (१५२‍।५७ किलो) मासु बरामद गरेको प्रहरी निरीक्षक रायमाझीले बताए ।

उनका अनुसार गाडीको छतमा लुकाइराखिएको अवस्थामा मासु बरामद गरिएको थियो । गाडी चालक बराहताल गाउँपालिका–८ सुर्खेतका २७ वर्षीय अर्जुन गौतम, संरक्षित वन्यजन्तुको मासु प्राप्त गर्ने वीरेन्द्रनगर नगरपालिका–४ जुम्लाका ४५ वर्षीय प्रेम बुढामगर र चौकुने गाउँपालिका–८ सुर्खेत का ३५ वर्षीय दीपेन्द्रराज गिरीलाई पक्राउ गरी अनुसनधान थालिएको प्रहरीले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार