दमकमा १० बिगाहा सरकारी जग्गा हडपेका नेकपा नेता पुरी पक्राउ

काठमाडौं । झापा दमकका नेकपा नेता रेवतराज पुरी ‘गगन’ पक्राउ परेका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले पुरीलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो।

दमक नगरपालिका-६ का नेकपा नेता पुरीमाथि सरकारी जग्गा आफ्नो नाममा कीर्ते गरेर अवैध धन आर्जन गरेको अभियोग छ। उक्त अभियोगमा अनुसन्धान गरिरहेको विभागले पुरीलाई पक्राउ गरेको हो। हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने देखिएपछि हामीले पक्राउ गरेका हौं,’ विभागका एक अधिकारीले सेतोपाटीसँग भने।

पुरी नेपाल कम्युनिष्ट पार्टीका प्रदेश १ का सदस्य हुन्। उनी गत स्थानीय निर्वाचनमा दमक नगरपालिकाको मेयरमा उम्मेदवार थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट पुरी चुनावमा पराजित भएका थिए।

दमक नगरपालिका-८ (साबिक १३) को १0 बिगाहा ८ कठ्ठा जग्गा आफ्नो नाममा ल्याएर बिक्री वितरण गरेको अभियोगमा पुरीमाथि विभागले अनुसन्धान गरिरहेको थियो।

विभागका ती अधिकारीका अनुसार उनले अवैध आर्जन गरेको सम्पत्ति करिब ६ करोडजति फेला परिसकेको छ। बाँकी रहेको सम्पत्तिबारे पनि अनुसन्धान चलिरहेकाले बिगो बढ्ने ती अधिकारीले बताए।

यो अभियोगमा उनी यसअघि अदालतबाट धरौटीमा छुटेका थिए। तीन महिना फरार भएका उनी २०७७ चैत ७ गते जिल्ला अदालतमा सुटुक्क हाजिर हुन पुगेका थिए।

झापा दमक नगरपालिका-८ (साबिक-१३ र १४)को ३0 बिगाहा बढी सरकारी जग्गा पुरीले कीर्ते गरेर आफ्नो नाममा ल्याएको अभियोगमा अदालतले उनलाई एक लाख ८० हजार धरौटीमा रिहा गरेको थियो।

जिल्ला सरकारी वकिलको कार्यालय झापाले सरकारी जग्गा कीर्ते गरी आफ्नो नाममा ल्याएको अभियोगमा पुरीलाई मुख्य व्यक्ति किटान गरेर ‘दमक बालुवाटार जग्गा घोटाला’ अदालतमा पुर्‍याएको थियो।

पुरी उनका आफन्त, नापी तथा मालपोत कर्मचारीसहित २२ जनालाई सरकारी छाप दस्तखत कीर्तेमा विपक्षी बनाइएको थियो। मुद्दा दर्तासँगै बालुवाटार प्रकरण अदालतको नियमित कार्यसूचीमा प्रवेश गरेको प्रारम्भिक चरणबाटै पुरी धरौटी बुझाएर छुटेका थिए।

पुसमै पक्राउ पूर्जी जारी भएका पुरी प्रहरीबाट छलिँदै आएका थिए। पुरीले दमक साबिक-१३ र १४ को सरकारी जग्गा आफू र आफ्नो परिवारको नाममा ल्याएर बेचबिखन गरेको अनुसन्धानबाट देखिएको छ।

उनले हडपेको जग्गा २ लाख ८ हजार ७६६ दशमलव १५ वर्गमिटर (३० बिगाहा बढी)छ। उनले आफन्त देवकुमार पुरी, मनमाया पुरी, केशावती पुरी, भूमिका कोइराला, रमेश ढकाल र रमेश गिरीको नाममा हडपेर बेचबिखन गरेको देखिएको छ।

प्रहरीको अनुसन्धान अनुसार दुई नम्बर नापी टोली चन्द्रगढी र नापी कार्यालय दमकका कर्मचारीको मिलेमतोमा पुरीले सरकारी जग्गा हडपेका छन्।

प्रतिवादीमध्ये पुरी परिवारका सबै सदस्य दमक नगरपालिका-६ का हुन्। कोइराला वडा नम्बर ८, ढकाल ललितपुर उपमहानगरपालिका-१३ जावलाखेल र गिरी झापा दमक-३ गोलाटारका हुन्।

आरोपी देवकुमार रेवतराजका दाजु, केशावती श्रीमती, मनमाया दिदी र भूमिका कोइराला नेकपा झापा जिल्ला सदस्य हुन्। ढकाल पुरीका चिनजानका व्यवसायी हुन् भने गिरी लेखापढी व्यवसायी हुन्।

उनीहरू सबैलाई जिल्ला सरकारी वकिल कार्यालय झापाले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग अन्तर्गत कारबाहीको मागदाबी लिएको थियो।

पुरीले उक्त जग्गा आफू, आफन्त र नातेदारको नाममा ल्याई विभिन्न व्यक्तिहरूलाई बेचबिखन गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरी अनुसन्धानमा उक्त जग्गा १४८ जना व्यक्तिलाई नामसारी तथा बिक्री गरेको देखिएको छ।

उक्त कार्यमा संलग्न कर्मचारी केहीलाई अदालती, केहीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग र पुरीसहितका जग्गाधनीलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग अन्तर्गत कारबाहीको मागदाबी लिइएको वस्तीले बताए।

मुलुकी अपराध संहिता-२०७४ को लिखत सम्बन्धीको कसुरअनुसार उक्त जग्गामा आरोपितहरूलाई सरकारी बिगो दुई करोड ६९ लाख ५५ हजार ५८१ रूपैयाँ बिगो कायम गरिएको थियो। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार