प्रजातन्त्र सेनानी दिलबहादुर कामीको निधन

लमजुङ । प्रजातन्त्र सेनानी दिलबहादुर कामी (घोइरो कामी) को ८४ वर्षका उमेरमा निधन भएको छ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ मध्यनेपाल नगरपालिका–७ इशानेश्वरमा बस्दै आएका कामीको आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको हो ।

गत जेठदेखि उनीमा दम र मुटुको समस्या बल्झिएको थियो । अस्वास्थ्यका कारण आफ्नै निवासमा कष्टकर जीवन बिताउँदै आएका थिए । नेपाली काँग्रेस जिल्ला कार्यसमिति लमजुङका सभापति भेषबहादुर पौडेलको उपस्थितिमा आज उनको अन्यष्टी गरिने जिल्ला कार्यसमितिका पूर्व सचिव आनन्द घिमिरेले जानकारी दिए ।

उनले भने, “उहाँको निधनले हामीलाई दुःखी तुल्याएको छ ।” प्रजातन्त्र सेनानी कामीका एक छोरा, एक बुहारी, चार छोरी र छोरापट्टीको एक नाती रहेका छन् । श्रीमतीको भने करिब दुई दशक अघि नै निधन भइसकेको छ । उनी नातीसँग बस्दै आएका थिए ।

प्रजातन्त्र सेनानी कामी बिपी स्मृति ट्रस्टद्वारा विसं २०७२ मा सम्मानित भएका थिए । घोइरो कामीले विसं २००६ मा राणा शासनको विरुद्धमा काँग्रेसको झण्डा देखाएर मुलुकमा प्रजातन्त्र स्थापनाको आह्वान गरेका थिए । विसं २००६ मा काँग्रेसद्वारा आह्वान गरिएको राणा शासनको विरुद्धमा झण्डा बोकेर जिल्लाको इशानेश्वर भेगमा गरेको प्रदर्शनको सम्मानस्वरुप प्रजातन्त्र आएपछि नवलपरासी जिल्लामा ३ कट्ठा जग्गासमेत बकस प्राप्त गरेका थिए ।

उक्त जग्गा बिक्री गरेर उनी यस जिल्लाको तत्कालीन इशानेश्वर गाविसको चिसङ्कु गाउँबाट लमजुङकै भोर्लेटारमा बसाइँसराइ गरेर बस्दै आए । बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको निकट रहेर राजनीतिमा होमिएका घोइरो कामी काँग्रेसका साहासी, अनुशासित तथा इमान्दार कार्यकर्ताका रुपमा चर्चित रहेका थिए ।

त्यति बेला काँग्रेस नेता भट्टराईले घोएरो कामीको इमान्दारिता देखेर आफूले लगाएको कोट फुकालेर लाउन दिएको र कामीले उक्त कोटमा पैसा रहेछ भन्दै भट्टराईलाई पैसा फिर्ता गरेको प्रसङ्ग काँग्रेस वृत्तमा चर्चाको विषय बनेको थियो ।रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार