दलित हत्या प्रकरणः निलम्बित इन्स्पेक्टरसहित ३ प्रहरी फरार

रौतहट । रौतहट दलित हत्या प्रकरणका आरोपी निलम्बित इन्स्पेक्टरसहित ३ प्रहरी फरार भएका छन् । इन्स्पेक्टर नविनकुमार सिंहसहित तीन प्रहरीविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ पुर्जी जारी गरेपछि उनीहरु फरार भएका हुन् ।

इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका युवक विजय रामलाई यातना दिएर मारेको आरोपमा उनीहरु निलम्बनमा परेका थिए ।

गत साउन ३१ गते राती गरुडा नगरपालिका– ८ जिगडियाका २० वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या भएको थियो । सोही घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेका प्रतिवादी १९ वर्षीय विजय रामलाई प्रहरी हिरासतमा चरम यातना दिएको आरोप लागेको थियो ।

भदौं १० गते नेश्नल मेडिकल कलेज वीरगञ्जमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । सो घटनाको छानविन माग गर्दै दलित अगुवाहरुले चरणबद्ध आन्दोलन गरेका थिए । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी निरीक्षक नविनकुमार सिंह, प्रहरी हवाल्दार हिरोज मियाँ धुनिया र प्रहरी हवाल्दार मन्नुकुमार सिंह निलम्वनमा परेका थिए ।

तत्कालीन एसपी रविराज खड्का प्रहरी प्रधान कार्यालयमा तानिएका थिए भने गरुडाका डिएसपी ज्ञानकुमार महतो प्रदेश प्रहरी कार्यालय सरुवा भएका थिए । इन्सपेक्टरसहित ३ प्रहरीमाथि प्रहरी नियमावली २०७१ को (नियम ११५) देहाय ४ बमोजिम थप अनुसन्धान तथा जाँचबुझ नहुन्जेल सम्मका लागि निलम्बन गरिएको जनाइएको छ । मृतक युवकका परिवारले ३ जना प्रहरीविरुद्ध कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गराएका थिए ।

सोही क्रममा प्रहरी निरीक्षक सहित तीनै जना प्रहरी सम्पर्कमा नआएपछि मंसिर १७ गते उनीहरुको स्थायी ठेगानामा पक्राउ पुर्जी टाँस गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । फरार रहेका प्रहरीहरु भारतमा लुकेर बसेको हुनसक्ने रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताएका छन् । उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता एसपी शाहले जनाएका छन् । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार