खोटाङ । जंगलमा टेन्ट टाँगेर बसेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय केवी तामाङ बागध्वज रहेका छन् ।
खोटाङको साकेला गाउँपालिका–बाँझेच्यानडाँडाको सेखुवामा रहेको खलेबारी जंगलमा टेन्ट टाँगेर सेल्टर लिइरहेको अवस्थामा तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए ।
गएराति तामाङलाई प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । तामाङको साथबाट एक नाल भरुवा बन्दुक, राइफल तथा पेस्तोलमा लाग्ने ७३ राउण्ड गोली, बारुद, छर्रालगायत बन्दोबस्तीमा सामानहरु समेत बरामद भएको चिमौरियाले बताए ।
जंगलमा सेल्टर बनाएको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । तामाङमाथि हातहतियार खरखजना तथा राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रातोपाटीबाट साभार