म्याग्दी, २ जेठ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका मा पर्ने महभिर र भिरकाटे क्षेत्रमा बिस्फोटक पदार्थको सहायतामा पहाड काटेर सडक फराकिलो पार्ने काम सुरु भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले अन्नपूर्ण गाउँपालिका–६ को भिरकाटे र वडा नं ७ को महभिर क्षेत्रमा सात करोड बढी लागतमा सडक विस्तार आयोजना अघि बढाएको हो ।
निर्माण कम्पनीले पहाडमा ड्रिलिङ गरेर बिस्फोटक पदार्थ प्रयोगमार्फत सडक फराकिलो बनाउने तयारी थालेको आयोजना प्रमुख तेजस्वी शर्माले जनाकारी दिनुभयो । हाल एकतर्फी रूपमा सञ्चालन हुँदै आएको महभिर र भिरकाटे खण्डको करिब ७०० मिटर सडक पाँचदेखि छ मिटर चौडाइको मात्रै भएकाले दुईतर्फी सवारी सञ्चालनमा समस्या हुँदै आएको छ । सडकलाई दुई लेनको ११ मिटर चौडाइमा विस्तार गरी ढलान गर्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ । आगामी असोजसम्म सम्पन्न गर्ने लक्ष्यसहित कालीमाता–थापाकाजी–रसुवा जेभीसँग रु सात करोड सात लाख ७४ हजारमा ठेक्का सम्झौता गरिएको छ ।
आयोजना प्रमुख शर्माले सुरुङ मार्ग निर्माणका लागि करिब एक अर्ब लागत अनुमानसहित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भए पनि आर्थिक स्रोत अभावका कारण हाल पहाड काटेर सडक फराकिलो पार्ने विकल्प अपनाइएको बताउनुभयो । सम्भव भएका स्थानमा कालीगण्डकी नदी किनारमा पक्की पर्खाल निर्माण गरेर सडक विस्तार गरिने र विस्तार सम्भव नभएका ठाउँमा चट्टानी भित्तो फुटाइने उहाँले जानकारी दिनुभयो ।
यसैबीच, चीन सीमासम्म जोड्ने २०२ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डका विभिन्न स्थानमा पहिरो रोकथामको काम पनि भइरहेको छ । आयोजना कार्यालयका अनुसार चमेरे, बैसरी, सिरुवारी, गुइँठेभिर, खामभित्ता, लाटाखोला, रुप्से र घोप्टेभिर क्षेत्रमा रु २६ करोड लागतमा पहिरो नियन्त्रणका आयोजना सञ्चालन भइरहेका छन् । रासस






















