घोराही । दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भिर घाइते युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए । उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा आज बिहान उनको मृत्यु भएको हो ।
थापा शनिबार दिउँसो २ बजेतिर बबई गाउँपालिका ५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुलबाट लडेर खस्दा गम्भीर घाइते भएका थिए । पुलबाट झरेर गम्भीर घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको थियो ।
शनिबार रमाइलो गर्ने भन्दै उनीसहित २५–२६ जना साथी मिलेर पर्यटकीयस्थल पुरन्धारा झरनामा पिकनिक खान गएका थिए । त्यहीँ समयमा थापा टिकटक बनाउन भन्दै बबई नदी माथिको झुलुङ्गे पुलमा राखिएको सपोट तारमा झुण्डिएका थिए । त्यहीँ क्रममा उनको हात गलेपछि सोझै बगरमा खसेको बताइएको छ ।
‘पिकनिक खाइसकेपछि साथीसँगै झुलुङ्गे पुलमा गएका थापाले टिकटक बनाउन भन्दै सपोट तारमा झुण्डिएका रहेछन्,’ एसपी चन्दले भने, ‘केहीबेर झुण्डिएपछि उनको हात गल्यो र उनी त्यहीँबाट सोझै तल बगरमा खसेर गम्भिर घाइते भए, उनको चिन्ताजनक अबस्था नै थियो, आज बिहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।’ रातोपाटीबाट साभार