ताप्लेजुङमा वर्षभरिका अपराधमध्ये ६३ प्रतिशत बलात्कार

ताप्लेजुङ । ताप्लेजुङमा बलात्कारका घटना बढी रहँदा बालबिज्याँइका घटना पनि बढी रहेको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ताप्लेजुङले मानव अधिकार वर्ष पुस्तक सन् २०२१ को पुस्तक प्रकाशन पूर्व सदरमुकाम फुङ्लिङमा गरेको बार्षिक समिक्षा कार्यक्रमबाट यस्तो अवस्था पाइएको हो। इन्सेकका जिल्ला प्रतिनिधि देवराज गुरुङका अनुसार यो वर्ष तीनवटा अप्रत्यासित घटना बढेका छन्।

बालबिज्याँइ अर्थात् बालबालिकाबाट हुने अपराधका घटना, बहुविवाह र बलात्कार। बलात्कारका घटनाका पीडित पनि बालबालिका नै बढी छन् भने बालबिज्याँइमा पनि। आफन्तैबाट बालबालिका र किशोरीमाथि बलात्कार भएको घटना बढी पाइएको इन्सेकले जनाएको छ। गुरुङका अनुसार गत पुस १६ गतेदेखि यो वर्षको पुस ५ गतेसम्म इन्सेकको अभिलेखमा जम्मा ३२ वटा घटना सूचीकृत भएका छन्। ति मध्ये १६ वटा बलात्कारका घटना भएका छन्।

३ वटा बलात्कार प्रयासका र ५ वटा बहुविवाहका घटना भएका छन्। बहुविवाहको एउटा घटना भने बालविवाहसंग सम्बन्धित रहेको इन्सेकले जनाएको छ। दुईजनाको कर्तव्य ज्यानको घटना परिवारकै सदस्यबाट भएको पाइएको छ। एकजना १७ वर्षे किशोरी बलात्कारपछि जबरजस्ती पेटमा रहेको गर्भ फाल्न बाध्य भएको घटना पनि यो वर्ष भएको छ।

एउटा आत्महत्या दुरुत्साहनसंग सम्बन्धित समेत रहेको छ। जातिय भेदभावको एउटा घटना भएको छ भने कर्मचारीमाथि सामूहिक अभद्र व्यवहारको थप एक घटना भएको इन्सेक प्रतिनिधि गुरुङले जानकारी दिए। कूल घटना मध्ये बलात्कार र बलात्कार प्रयासका मात्र २० वटा घटना भएका छन्। यो कूल घटनाका प्रतिशतका हिसावले करिव ६२.५ प्रतिशत हो। बलात्कार र बलात्कार प्रयासका १५ घटनाकाका पीडित १८ वर्ष मुनिका बालिका छन् । ५ जना महिला २० वर्षमाथिका रहेको इन्सेकले जनाएको छ।

सो अवधिमा घरेलु हिंसाका ४० वटा घटना भएका छन्। ति मध्ये ३३ वटा मिलापत्रमा टुङ्गिएको र ७ वटाको बाँकी रहेको इन्सेकले जानकारी दिएको छ। बहुविवाहमा २ जना बालबिज्याँइ गरेकी बालिका रहेका छन्। ति दुईमध्ये एकजना भने गर्भवती छन्।

जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनको प्रमुख आथित्यतामा भएको कार्यक्रममा आठराइ त्रिबेणी गाउँपालिका अध्यक्ष बिश्वनाथ सिटौला, फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराई, प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाइँसहितका सुरक्षा अधिकारीहरु, अन्य जनप्रतिनिधिहरु नागरिक अगुवा, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार