धनगढी प्रहरी हत्याकाण्डका मुख्य योजनाकार पक्राउ

कैलाली । नेपाल प्रहरीका असई र प्रहरी जवान हत्या प्रकरणका मुख्य योजनाकार पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१० स्थित अस्थायी प्रहरी बिट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्ती गएका प्रहरी जवान रामबहादुर साउदको हत्याका मुख्य योजनाकार सुकबहादुर भनिने अमर राना पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको हो ।

धनगढी उपमहानगरपालिका १० जुगेडा बस्ने ३४ वर्षीय रानालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले धनगढी उपमहानगरपालिका १९ फूलबारी एरियाको नेपाल भारत सीमा नजिकबाट आइतबार राती पक्राउ गर्न सफल भएको प्रहरीको दाबी छ । उनलाई आजै जिल्ला अदालत कैलालीमा पेश गरिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अनुपम शमशेर जबराले बताए ।

घटनामा संलग्न ९ जनालाई यसअघि नै पक्राउ गरिसकिएको उनले बताए । यसअघि पक्राउ पर्नेमा रोहित राना, राजेन्द्र राना, चोर भन्ने सुरेश राना, गब्बर भन्ने राजकुमार राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना, रोहित राना, गोपाल भन्ने रामगोपाल राना र राजिब गुप्ता रहेका छन् ।

जिल्ला अदालत कैलालीले ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ भने राजिब गुप्ता १ लाख ५० हजार धौटीमा छुटिसकेका छन् । ड्युटीका क्रममा दशगजा क्षेत्र पुगेका बेला विकलाई घाँटी रेटेर हत्या गरिएको थियो । विकको शव मोहना नदीमा फेला परेको थियो भने घटनापश्चात् विकसँगै रहेका प्रहरी जवान साउदको शव मोहना नदीको किनारमा गाडिएको अवस्थामा फेला परेको थियो ।

तस्करहरूले हत्या गरी मोहना नदी किनारमा गाडेको अवस्थामा उनको शव फेला परेको प्रहरीले बताउँदै आएको छ । घटनामा संग्लन रहेका एक जनाले साउदको हत्या गरी नदीको बीच भागमा गाडेको बयान दिएपछि शव फेला परेको थियो ।

नेपालबाट भारततर्फ केराउ लगायतका सामान तस्करी गर्ने क्रममा अवरोध गरेपछि हत्या गरेको प्रहरी समक्ष उनले बयान दिएका थिए । घटनामा भारतीय तस्करहरूको पनि संलग्नता रहेको आशंका छ । पत्रकार सम्मेलनमा एक प्रहरी अधिकारीले भने, ‘उताका तस्करले नदीसम्म मोबाइल पुर्याइदिएको घटना हेर्दा भारतीय तस्कारहरूको पनि संलग्नता देखियो ।’

प्रहरीले दाल ओसारपसार गर्न प्रयोग गरिएको गोरु गाडासमेत स्थानीय बलराम रानाको घरबाट बरामद गरेको छ । अनुसन्धानका क्रममा प्रहरीले १६ जनाभन्दा बढीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । भारतसँग जोडिएको उक्त नाका तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ हो । घटनास्थलमा साउदले प्रयोग गर्ने गरेको मोबाइल र एउटा बुट फेला परेको थियो ।

त्यस्तै विकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो । सीमा क्षेत्रमा तस्कर समूहका गतिविधि निगरानी र नियन्त्रण गर्न पुगेका प्रहरी तस्करकै शिकार बनेका हुन् । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार