घुम्ती रक्तदानमा १६३ युनिट रगत सङ्कलन

गण्डकी । रक्तसञ्चार केन्द्र रामघाटमा रगतको अभाव भएपछि यहाँको एक संस्थाले गरेको सप्ताहव्यापी घुम्ती रक्तदान कार्यक्रममा १६३ युनिट रगत सङ्कलन भएको छ ।

पोखरा च्याम्बर अफ कमर्श कास्कीको दोस्रो वार्षिकोत्सवको अवसरमा पोखराका विभिन्न छ स्थानमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा १६३ युनिट रगत सङ्कलन भएको हो । पोखराको विपिचोकमा २९, विरौटाचोकमा ४४, अमरसिंहचोकमा २१, बगरमाम २९, बूढीबजारमा २० र पृथ्वीचोकमा २० युनिट रगत सङ्कलन भएको संस्थाका सचिवालय सदस्य एवं कार्यक्रम संयोजक रविबहादुर विकले जानकारी दिए ।

रक्तसञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा लगभग २० प्रतिशत महिलाको सहभागिता रहेको थियो । साताव्यापी कार्यक्रमअन्तर्गत पोखराको मुख्य बजार पृथ्वीचोकमा भएको रक्तदान कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले रक्तदाता समिता रोकालाई ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्दै रक्तदानमा सबैको साथ र सहयोगको खाँचो औँल्याए ।

निजी क्षेत्रको सहकार्यमा गण्डकी प्रदेशको आर्थिक नीति निर्माण गर्ने बताउँदै उनले उद्योगी व्यवसायीको हक, हितका साथै व्यवसाय प्रवद्र्धनका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सहकारीका सदस्यलाई कोसेली स्वास्थ्य सामग्री

सफल बचत तथा ऋण सहकारी संस्थाले साधारणसभामा शेयर सदस्यलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । पोखरा महानगरपालिका–१७ कार्यालय स्थापना गरी सञ्चालनमा आएको सहकारीको आइतबारदेखि शुरु भएको १३ औँ साधारणमा शेयर सदस्यलाई कोसेलीस्वरुप मास्क र सेनिटाइजर वितरण गरिएको हो ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोगथामका लागि सरकारले भेला, महोत्सव गर्न गरेको बन्देजका कारण स्वास्थ्य मापदण्ड अपनाएर चार दिनसम्म साधारणसभा सञ्चालन गरिने संस्थाका कोषाध्यक्ष पवित्रा जिसीले जानकारी दिइन् ।

शेयर सदस्यलाई महामारीबाट जोगिन सरसफाइमा बढी ध्यान दिनुपर्दछ भन्ने सन्देश दिने उद्देश्यले सरसफाइका सामग्री प्रदान गरिएको बताइन् । उनका अनुसार यस अवधिमा नेपाल रेडक्रस सोसाइटीले शुरु गरेको रेडक्रस भवन निर्माणका लागि आर्थिक सहयोग तथा सुरक्षाकर्मीलाई समेत स्वास्थ्य सामग्री वितरण गरिने छ ।

पोखरा महानगरपालिका वडा नं ७ र १७ स्थित पूर्वी भेगका बुद्धिजीवी, समाजसेवीको सक्रियतामा विसं २०६४ मा दर्ता गरी सञ्चालनमा आएको सो सहकारीमा हाल ३८६ शेयर सदस्य रहेका छन् । तिनमा ६० प्रतिशतभन्दा बढी महिलाको सहभागिता रहेको छ । संस्थाले गत वर्षको १२ औँ साधारणसभामा महानगर स्वास्थ्य महाशाखाको सहयोगमा शेयर सदस्यलाई डेङ्गु रोगको बारेमा सचेतना कार्यक्रमको आयोजना गरेको थियो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार